हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–१ मा पिङ खेल्ने क्रममा पिङको डोरीमा झुण्डिएर नौ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिया दमाईंका छोरा धौला रहेका छन् ।
सोमवार अपराह्न ३ः०० बजे जैर गाउँको स्याँडी भन्ने वनमा गोठालो गएका दमाईं साथीसँग रूखमा लगाइएको पिङ खेल्ने क्रममा डोरी चुँडिएर घाँटीमा बेरिँदा उनको मृत्यु भएको जैरका स्थानीयवासी धनलाल बुढाले बताए ।
घटनास्थल गाउँभन्दा टाढा रहेकाले गाउँबाट मान्छे घटनास्थलमा पुग्दासम्म बालकको मृत्यु भइसकेको थियो ।
मलामी गएका बैतडीका एक किशोरको महाकाली नदीमा डुबेर मुत्यु
बैतडी । मलामी गएका बैतडीका एक किशोरको मंगलवार महाकाली नदीमा डुबेर मुत्यु भएको छ । शिवनाथ गाउँपालिका १ कुँडका १७ वर्षीय महेश साउदको नदीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
स्थानीयवासी ६० वर्षीय घनबहादुर साउदको मलामी गएका महेश मंगलवार बिहान साढे ११ बजेतिर नुहाउने क्रममा महाकाली नदीको डिम्बर घाटबाट बेपत्ता भएका थिए ।
बेपत्ता किशोरको करिब पाँच घण्टापछि अपराह्न साढे ४ बजेतिर डुबेको केही तल नदीमै मृतावस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरीले शव निकालेको थियो ।