बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा गएराति चिकित्सकमाथि आक्रमण भएको छ । उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेका हुन । अस्पतालका अनुसार गएराति करिब ८ बजेको समयमा भेन्टिलेटरमा उपचाररत दाङका ५४ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो ।
गम्भीर अवस्थामा रहेका उनको स्वास्थ्यमा सुधार आउन नसकिरहेका बेला पनि चिकित्सकहरुले उनलाई बचाउने हरदम प्रयत्न गरिरहेका थिए । उनको मृत्युपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्दै चिकित्सकहरुमाथि आक्रमण गर्न थाले । त्यस क्रममा केही चिकित्सकले झ्यालबाट तल्लो तलामा हाम फालेर ज्यान बचाए । केहीलाई भने मृतकका आफन्तले लखेटी लखेटी आक्रमण गरे ।
उपचारमा संलग्न डाक्टर, नर्ससहित ६ जना स्वास्थ्यकर्मीमाथि मतकका आफन्तले आक्रमण गरेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाशबहादुर थापाले जानकारी दिएका छन । उनीहरुले पीपीई लगाएका नर्सहरुको घाँटी थिच्ने, लात्तीले हान्ने जस्ता दुब्र्यवहार गरेको डा.थापाले बताए ।
अस्पतालमा १५ जना बिरामी आइसियूमा उपचाररत रहेको र मध्यरातसम्म पनि वातावरण त्रासदिपूर्ण भएकाले उनीहरुको उपचारमा खटिन कठिन भएको थापाले बताए । चिकित्सकमाथि चारजनाको समूहले आक्रमण गरेको भएपनि दुईजनालाई मात्रै प्रहरीले नियन्त्रणमा लिएको डा. थापाले जानकारी दिए ।
बिरामीको सेवामा निरन्तर खटिँदा समेत आफूहरुमाथि भौतिक आक्रमण भएको भन्दै चिकित्सकहरुले सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म काम नगर्ने बताएका छन् ।