बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने मानबहादुर रावत सहित तीन जनाविरुद्ध किटानी जाहेरी परेको छ । अस्पताल प्रशासनले चिकित्सकमाथि आक्रमणमा संलग्न रहेको भन्दै लोकबहादुर रावत, मानबहादुर रावत र भरत रावतमाथि किटानी जाहेरी दिएको उनले बताए ।
अस्पताल प्रशासनले पनि एक विज्ञप्ति जारी गर्दै प्रहरी नियन्त्रणमा रहेका उनीहरुमाथि किटानी जाहेरी दिएको बताएको छ ।
अस्पतालका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाशबहादुर थापाले संयुक्त प्रेश विज्ञप्ति जारी गर्दै घटनामा संलग्न अन्य व्यक्तिहरुबारे थप अनुसन्धान गरी कानुनी दायरमा ल्याइ कारबाही प्रक्रिया अगाडि बढाउन प्रशासनसँग आग्रह गरेका छन् ।
चिकित्सकमाथि सांघातिक आक्रमण गर्ने समूहमाथि कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढीसकेको भन्दै अस्पताल प्रशासनले आन्दोलनरत स्वास्थ्यकर्मीहरुलाई काममा फर्कन आह्वान समेत गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले कुटपिट गर्नेहरूविरूद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्काले जानकारी दिए। प्रहरीले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरेको थियो।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायतले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेका थिए।
अस्पतालमा उपचार गराइरहेका रावतको बिहीबार बेलुकी ८ बजे मृत्यु भएको थियो।
उनको मृत्युलगत्तै आफन्तहरूले डाक्टर र नर्समाथि आक्रमण र अस्पताल तोडफोड गरेका थिए।कोरोना भाइरसको महामारीको बेलामा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि अहिले चौतर्फी बिरोध भएको थियो।
घटनाको अनुसन्धान गर्न बाँके जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति समेत गठन भएको छ। घटनासम्बन्धी प्रहरीले पनि अनुसन्धान गरिरहेको छ।