पोखरा । तनहुँ व्यास नगरपालिकामा पहिरोमा परी एक महिलाको मृत्यु गएको छ । मृत्यु हुनेमा व्यास १, निर्मल पोखरीका ६२ वर्षीय सरस्वती घर्ती रहेको वडाध्यक्ष खरसिंह दरैले जानकारी दिए ।
पहिरोले घर पूर्ण रुपमा क्षति पुगेको वडाध्यक्ष दरैले बताए ।राति सुतेको बेला घरपछाडिबाट ठूलो पहिरो आएछ । पहिरोपछि उद्धार गरेर अस्पताल लैजाने क्रममा मृत्यु भएको हो, उनले भने, घरका अरु सदस्य भने सकुशलै छन् ।
मध्यपहाडी लोकमार्गको पर्वत-बाग्लुङ सडकखण्ड बन्द
पर्वत - निरन्तर परेको बर्षाका कारण पहिरोले गर्दा मध्यपहाडी लोकमार्गको पर्वत-बाग्लुङ सडकखण्ड बन्द भएको छ । पर्वतको कुश्मा नगरपालिका-१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गएरातिदेखि नै बाटो बन्द भएको हो ।
निरन्तर पहिरो झरिरहेकाले हटाउने कामसमेत प्रभावित भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताउनुभयो ।
पानी नरोकिएकाले निरन्तर लेदो झरिरहेका कारण समस्या भएको र बाटो खुलाउन तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । एम्बुलेन्स र ढुवानीका गाडी गुड्न सकेका छैनन् । बाग्लुङ, म्याग्दी, मुस्ताङलगायतका ठाउँबाट थप उपचारका लागि पोखरा लैजानुपर्ने बिरामी तथा अत्यावश्यक कामका लागि आवतजावत गर्नेहरु मर्कामा परेका छन् । ती गाडीहरु पर्वतको नयाँ पुलमा अलपत्र छन् ।