Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सम्भावित कोरोना संक्रमितलाई परीक्षणको दायरामा ल्याउनै कठिन

सम्भावित कोरोना संक्रमितलाई परीक्षणको दायरामा ल्याउनै कठिन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १६, २०७८ आइतवार • १६:३०:४२ बजे
  • 1.7K
    SHARES
  • सम्भावित कोरोना संक्रमितलाई परीक्षणको दायरामा ल्याउनै कठिन

    एक समय थियो कोरोना संक्रमित छेउ पर्न चिकित्सक, स्वास्थ्यकर्मी नै धक मान्थे । महामारीको पहिलो लहरताका आइसोलेसनमा भर्ना भएका बिरामीलाई चिकित्सकले फोनबाटै स्वास्थ्य स्थिति बुझेका खबर पनि सार्वजनिक भए । विश्वव्यापी फैलिएको कोरोना महाव्याधिले सर्वत्र त्रासदी छाएको थियो । संक्रमितलाई अस्पताल ल्याउन एम्बुलेन्स चालक तयार हुन्थेनन् । कतै संक्रमित देखिएमा गाउँछिमेकले नै दुरदुर गर्थे ।

    images

    उपेक्षामा पर्ने डरले संक्रमित खुल्न डराउँथे । कोरोनाको दोस्रो लहर आइपुग्दा अवस्था त्यस्तो छैन । गत वर्ष भय र आतङ्क बढी थियो, संक्रमण कम । अहिले महामारी भयाबह बनेको छ तर त्रास घट्दो छ । यस अवधिमा कोरोना नियन्त्रण, रोकथाम, उपचार र व्यवस्थापनमा सिङ्गो राज्य संयन्त्र लाग्यो । जनस्तरबाट पनि महामारीविरुद्धको लडाईंमा हातेमालो भयो, भइरहेको छ । अहिले संक्रमण तीव्र छ । गाउँगाउँ फैलँदो छ । महामारीको चक्र तोड्न सामूहिक प्रयत्नको खाँचो छ । हरहालतमा संक्रमण रोक्नु छ । त्यसकै लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सुक्ष्म योजना’ लागू गरेको छ । स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तयार गरेको कार्ययोजनामा टेकेर स्थानीय तहहरु अहिले कोरोना नियन्त्रणमा जुटेका छन् । “संक्रमण घटाउने उद्देश्यले सुक्ष्म योजना बनेको हो, पहिले स्वास्थ्यकर्मी मात्रै खट्थे भने अहिले सबै पक्षको भूमिका खोजिएको छ”, उनले भने ।

    गाउँ बस्तीसम्मै कोरोना सहजीकरण समूह बनाएर काम थालिएको र त्यसको प्रभावकारिताबारे अनुगमन पनि गरिने कार्यालयले जनाएको छ । कोरोनाविरुद्धको अभियानमा अहिले स्वास्थ्यकर्मीसहित स्थानीय जनप्रतिनिधि, सामाजिक सङ्घसंस्था, स्वयंसेवी समूहलगायत परिचालित छन् । “कतिपय स्थानीय तहले वडास्तरमा रहेका विपद् व्यवस्थापन समितिलाई त्यसको जिम्मेवारी दिएका छन्, कसैले आफ्नो अनुकूल योजना बनाएर काम गरिरहेका छन्”, प्रमुख गुरौले भने । कार्यालयले सातादिन अघि नै सुक्ष्म योजना (माइक्रो प्लान)बनाएर कोरोना नियन्त्रणमा लाग्न परिपत्र गरेको थियो ।

    जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला समन्वय समितिले पनि सो योजनाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पहल र समन्वय गरिरहेको छ । समुदायस्तरमा बनेका सहजीकरण समूहले टोलबस्तीमा पुगेर संक्रमितको निगरानी गर्ने, होम आइसोलेसनमा स्वास्थ्य मापदण्ड पालना भए÷नभएको अनुगमन गर्ने, संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा सघाउने, बिरामीको अवस्था हेरेर थप उपचारका लागि अस्पताल पु¥याउन सहयोग गर्नेलगायतका कार्य गर्छन् । कोरोना घरघरमा पुगेको भएकाले एकअर्का सदस्यमा सर्नबाट जोगाउनु नै अहिले मुख्य चुनौती छ । होम आइसोलेसनमा बसेका संक्रमितलाई स्वास्थ्य सचेतना, मनोपरामर्श, आधारभूत उपचार र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीको खाँचो छ ।

    गलकोट नगरपालिका–२ का वडाध्यक्ष हेमन्त भण्डारीले अझै पनि सोचेजसरी होम आइसोलेसनमा बसेका संक्रमितको निगरानी र अनुगमन गर्न नसकिएको बताए । “स्वास्थ्यकर्मी पनि संक्रमितकामा जान डराए, हिच्किचाए जस्तो अनुभव हामीले गरेका छौँ”, उनले भने, “सम्भव भएसम्म हामी आफैँ पुग्छौँ, नजिकको छिमेकीलाई पनि संक्रमितको गतिविधि निगरानी गर्न लगाएका छौँ ।” संक्रमित आइसोलेसनमा नबसेको, स्वास्थ्य मापदण्ड पालना नगरेको, बाहिर हिँडडुल गरेको पाइएमा छिमेकीले जनप्रतिनिधिलाई खबर गर्ने गरेका छन् । वडाध्यक्ष भण्डारीले समुदायस्तरमा कोरोना परीक्षणको दायरा बढाउन नसकिएको बताए । “टाढाटाढा दुर्गमसम्म बस्ती छन्, सम्भावित संक्रमितलाई परीक्षणको दायरामै ल्याउन हामीलाई कठिन भइरहेको छ”, उनले भने । गलकोट नपाले एउटा एम्बुलेन्स र दुई जीपलाई सुरक्षित तवरले संक्रमित र सम्भावित संक्रमित बोक्न प्रयोगमा ल्याएको छ ।

    स्वाबको नमूना दिएको चार÷पाँच दिनमा बल्ल रिपोर्ट आउँदा पनि व्यवस्थापनमा समस्या निम्तने गरेको छ । सदरमुकामस्थित धवलागिरि अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा स्वाबको चाप छ । सीमित स्रोतसाधनका बाबजुत महामारीविरुद्ध सङ्घर्षरत स्थानीय तहका जनप्रतिनिधि पनि अहिले निर्धक्कसाथ संक्रमितको घरदैलोमा पुगिरहेका देखिन्छन् । स्वास्थ्यकर्मीसहित जनप्रतिनिधि पुग्दा संक्रमित र तिनका परिवारको मनोबल बढ्छ । कतिपय जनप्रतिनिधिले औषधि, पौष्टिक आहार, स्वास्थ्य सामग्रीसमेत बाँडिरहेका छन् ।

    धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले होम आइसोलेसनमा बसेका संक्रमितको नियमित निगरानी गर्नुपर्ने बताए । “एकै रातमा पनि समस्या जटिल बन्न सक्छ”, उनले भने, “स्वस्थकर आहार, उचित हेरचाह, नियमित स्वास्थ्य जाँचको व्यवस्था गर्नुपर्छ ।” होम आइसोलेसनमै बसेका कतिपय संक्रमितलाई स्वास्थ्य अवस्था जटिल बनेपछि मात्र अस्पताल ल्याउँदा बचाउन नसकिएको प्रमुख चिकित्सक पोखरेलले सुनाए । “गाउँमै मेडिकलबाट आफूखुशी औषधि किनेर खाने गरेको पनि पाइएको छ”, उनले भने, “अक्सिजन घट्न थाल्यो, संक्रमितलाई स्वास फेर्न गाह्रो भयो भने तुरुन्त अस्पताल ल्याउनुपर्छ ।” धवलागिरि अस्पतालमा अहिले ३४ जना संक्रमित उपचाररत छन् ।

    तीमध्ये तीन जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा "सक्रिय" संक्रमितको संख्या एक हजार बढी छ । कोरोनाका कारण ३८ जनाले ज्यान गुमाएका छन् । विसं २०७६ चैत १५ गते देशकै पाँचौ ससंक्रमित भेटिएको यस जिल्लामा हालसम्म तीन हजार बढीमा कोरोना देखिएको छ । रासस

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology