Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दी जिल्ला अस्पतालमा जनशक्ति अभाव,आईसीयू र भेन्टिलेटर प्रयोगविहीन

म्याग्दी जिल्ला अस्पतालमा जनशक्ति अभाव,आईसीयू र भेन्टिलेटर प्रयोगविहीन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १७, २०७८ सोमवार • १५:५४:१२ बजे
  • 1.7K
    SHARES
  • म्याग्दी  जिल्ला अस्पतालमा जनशक्ति अभाव,आईसीयू र भेन्टिलेटर प्रयोगविहीन

    म्याग्दी । जिल्ला सदरमुकामस्थित बेनी अस्पतालमा स्थापना गरिएको सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटर पूर्णरूपमा प्रयोगमा आउन सकेको छैन । जनशक्ति अभावका कारण गम्भीर बिरामीको उपचार गर्न गत असारमा स्थापना गरिएको आईसीयू सञ्चालन गर्न समस्या भएको हो ।

    images

    गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत अस्पतालमा दुई वटा भेन्टिलेटरसहित पाँच शय्याको आईसीयू कक्ष स्थापना गरिएको थियो । दक्ष र आवश्यक जनशक्ति नहुँदा नियमितरूपमा आईसीयू सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । गण्डकी प्रदेश सरकारमातहत रहेका अस्पतालमा भेन्टिलेटरसहितको आईसीयू कक्ष बनाउने निर्णयबमोजिम म्याग्दीमा गत असारमै दुई भेन्टिलेटर र पाँच शय्याको आईसीयू मेशिन तथा उपकरण र सामग्री खरिद गरी जडानसमेत भएको थियो ।

    प्रदेश सरकारमार्फत रु एक करोड ७८ लाख बजेट विनियोजन भएकोमा बोलपत्रमार्फत रु एक करोड २५ लाखमा आईसीयू र भेन्टिलेटरको उपकरण र सामग्री खरिद गरिएको अध्यक्ष कटुवालले जानकारी दिए । आईसीयू कक्ष नियमितरूपमा सञ्चालन गर्नका लागि कम्तीमा एक/एक जना इन्टरनल मेडिसिन र बेहोस बनाउने डाक्टर (एनएस्थिसियोलोजिस्ट) आवश्यक पर्ने भए पनि सो जनशक्ति नरहेकाले नियमित सञ्चालनमा ल्याउन नसकिएको अध्यक्ष कटुवाल बताउँछन् ।

    अस्पतालमा हाल मौजुदामध्ये थप छ चिकित्सक र १२ स्टाफ नर्स आवश्यक पर्छ”, उनले भने, “प्रदेश सरकारसँग जनशक्ति उपलब्ध गराउन नसके आन्तरिक स्रोतले व्यवस्थापन गर्न भए पनि अनुमति मागेका छौँ ।” अस्पतालका प्रमुख चिकित्सक जितेन्द्र कडेलका अनुसार आकस्मिकरूपमा छोटो समयका लागि मात्रै भेन्टिलेटरसहितको आईसीयू कक्षमा बिरामीको उपचार गर्न सम्भव छ । “आईसीयूमा राख्नुपर्ने बिरामीको सङ्ख्या कमै हुन्छ”, उनले भने, “अरु विकल्प नभएको अवस्थामा आईसीयू सञ्चालन भएको छ ।” गत वर्षदेखि मिर्गौला पीडितका लागि डायलासिस सेवासमेत सञ्चालन गरिएको र कोरोनाका बिरामीको आइसोलेसनमा समेत सेवा दिनुपर्ने भएकाले थप जनशक्ति व्यवस्थापन गर्न जरुरी रहेको अस्पतालले जनाएको छ । भेन्टिलेटरसहितको आईसीयू कक्षलाई नियमित सञ्चालन गर्न प्रदेश सरकार र विभागमा माग भए पनि अहिलेसम्म सुनुवाइ नभएको अध्यक्ष कटुवालले बताए । बेनी अस्पतालमा म्याग्दी जिल्लाका साथै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका र बागलुङको पश्चिम भेगका स्थानीयवासीले समेत सेवा लिँदै आएका छन् ।

    कोरोना सङक्रमितको उपचारलाई प्रभावकारी बनाउन आईसीयू र भेन्टिलेटर प्रयोगमा ल्याउनुपर्ने आवश्यकता महसुस भएको स्थानीयवासी खम थापाले बताए । अस्पतालमा रहेका आईसीयू र भेन्टिलेटरका उपकरण प्रयोगविहीन बन्ने र अर्कोतर्फ गम्भीर प्रकृतिका कोरोना सङ्क्रमित बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौं पुर्‍याउनुपर्ने बाध्यता सिर्जना हुनु दुःखद् रहेको बेनी नगरपालिका–६ का नारायण शर्माले बताए । बेनी अस्पतालमा एचडीयू र अक्सिजनसहितको २५ शय्या क्षमताको आइसोलेशन सञ्चालन गरेर कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । दोस्रो लहरको "सङ्क्रमण" फैलिएपछि करिब १०० जटिल अवस्थाका सङ्क्रमितको सफल उपचार भएको छ । सीमित जनशक्ति, पूर्वाधार र उपकरणका बावजुद चिकित्सक र स्वास्थ्यकर्मीहरुले सेवा दिइरहेका छन् । पाँच वर्षअघि ५० शय्या क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालमा हाल नौ जना चिकित्सक छन् । रासस

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology