महोत्तरी र कैलालीमा पुनः निषेधाज्ञाको समयावधि बढाइएको छ। त्यहाँका जिल्ला प्रशासनले जेठ मसान्तसम्म निषेधाज्ञा लम्ब्याइएको हो ।दुबै जिल्लाको बुधबार बसेको जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञाको समयावधि बढाउने निर्णय गरेको हो ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले दिएको जानकारी अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको बताए। महोत्तरीमा वैशाख २२ गतेदेखि नै निषेधाज्ञा जारी छ। खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने स्थानीय प्रशासनले जनाएको छ। यस्तै वैवाहिक कार्यक्रममा भने डिजे तथा ब्याण्ड बाजा बजाउनमा रोक लगाइएको छ भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना र भौतिक दूरी कायम गरी बढीमा १५ जनामा सीमित गरेर सम्पन्न गर्न सकिनेछ।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जेठ ३१ गते राति १२ बजेसम्म निषेध आदेश जारी गरेको जानकारी दिए। यस अवधिमा सर्वसाधारणलाई अत्यावश्यक बाहेकका काममा घरबाहिर ननिस्कने भनिएको छ। सामाजिक दुरी कायम गर्ने र नियमित साबुन पानीले हात धुने व्यवहारको पालना गर्न अनुरोध गरिएको छ।
यस अवधिमा सभा सम्मेलन तथ भिडभाड नगर्न आदेश जारी गरिएको छ। विवाहमा बढीमा ७ जना मात्र सहभागि हुन पाइने भनिएको छ। शैक्षिक संस्था पूर्ण रुपमा बन्द गरिएको छन्। अत्यावश्यक बाहेकका उद्योग चलाउन नपाइने भनिएको छ। यस्तै निशेधाज्ञाका बेला निर्माणका काममा स्वास्य सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन गर्ने भनिएको छ।
अत्यावश्यक सेवा, खाद्यान्न ढुवानी, दुध, औषधिलगायतका सवारीसाधन मात्र चलाउने पाइने निशेधाज्ञामा भनिएको छ। तरकारी, फलफूल, किराना पसल आदि आइतबार, मंगलबार, बिहिबार र शनिबार विहान ७ देखि १० बजेसम्म मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।