पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव घोषणा गरिसकेको सरकारले संविधान प्रतिकूल मन्त्रिपरिषद् पुनः गठन गरेको जिकिर गरेका छन्।
एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिद्वारा आयोजित राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको भर्चुअल उद्घाटन समारोहका क्रममा दाहालले शुक्रवार गरिएको मन्त्रिपरिषद् पुन:गठनलाई असंवैधानिक भनेका हुन्। दाहालले साम्राज्यवादविरुद्ध अझै लडाइँ बाँकी रहेको समेत बताए। 'नेपाली मौलिकताको जनवादी क्रान्तिको कोर्स पूरा भए पनि साम्राज्यवादविरुद्धको लडाइँ बाँकी नै छ', उनले भने, 'समाजवादी क्रान्तिबाट सामन्तवादका अवशेष समाप्त पार्न कम्युनिष्ट एकता र आन्दोलनबाट मात्र सम्भव छ।' उनले यतिबेला कोरोना महामारीविरुद्ध सबै एकताबद्ध भएर जुध्न पनि अनुरोध समेत गरे।
साथै संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका विषय जनताका बिचमा पुर्याउन शिक्षकहरुलाई आग्रह समेत गरे ।शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालगायतलाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको समेत उनले बताए। रासस