बागलुङ । बागलुङमा चौथो पटक निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति बागलुङको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो ।
उहाँका अनुसार यसअघि बन्द बैंक तथा वित्तीय संस्था सञ्चालनलाई भने केही खुकुलो बनाइएको छ । अब बैंक तथा वित्तीय संस्था बुधबार र आइतबार बिहान ७ देखि १० बजेसम्म खुला रहने छ । बैठकले यही जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण र मृत्यु दर नघटेको जनाउँदै बर्दियामा पनि स्थानीय प्रशासनले चौथो पटक निषेधाज्ञा थपेको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै १० दिन जिल्लाभर निषेधाज्ञा जारी गरिएको जनाएको छ ।
यसै गरी कोभिड १९ को सङ्क्रमण न्यूनीकरणका लागि तनहुँमा गरिएको निषेधाज्ञालाई चौथो पटक थप गरिइएको छ । कोभिडको जोखिम अझै कम नभएको र समुदायमा व्यापक फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
जिल्ला गत वैशाख २२ देखि ३१ गतेसम्म पहिलो, यही जेठ १ देखि १५ सम्म दोस्रो र जेठ १६ देखि २२ सम्म तेस्रो पटक निषेधाज्ञा गरिएको छ । तेस्रो पटक गरिएको निषेधाज्ञा भोलि शनिबार राति १२ बजे सकिदैछ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले कोभिड जोखिम कम नभएकाले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार निषेधाज्ञा कडाईका साथ कार्यान्वयन गर्न स्थानीय तह लगायत सबै पक्षलाई अनुरोध गरिएको छ ।रासस