पोखरा । आइतबारदेखि निरन्तर वर्षाले आज बाढीसहित पहिरो जाँदा बेँसीशहर चामे सडक, खेल मैदान र बङ्गुर बगाएको छ । मनाङ जोड्ने बेँसीशहर चामे सडक अन्तर्गत जिल्लाको बेँसीशहर नगरपालिका ६ स्थित खरखरे भीरमा सडक बाढी पहिराले बगाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार मर्स्याङ्दी नदीले सडक भासिएको छ भने सडक माथि भीरबाट ठूलाठूला ढुङ्गासहितको पहिराले सडक भासिन पुग्दा सडक अवरुद्ध भइरहेको छ । यहाँ करीब ३० मिटर सडक नै भासिएको छ । सडक अवरुद्ध भएपछि निषेधाज्ञाका बेला सञ्चालन हुने अत्यावश्यक ढुवानीका साधन तथा सवारी साधन रोकिनु पर्ने भएको छ ।
त्यस्तै मर्स्याङ्दी गाउँपालिका ४ राम बजारमा रहेको बाघेता युवा क्लबको खेल मैदान मर्स्याङ्दी नदीले बगाएको छ । क्लबका अध्यक्ष विष्णु गुरुङका अनुसार नदीमा पानीको बहाव वृद्धि हुँदा १० मिटर जति खेलमैदान बगाएको र अझै खेल मैदान बगाउने क्रम जारी रहेको छ । खेल मैदान यसै वर्ष गण्डकी प्रदेश सरकारको रु २० लाख र मर्स्याङ्दी गाउँपालिकाको रु पाँच लाख गरी रु २५ लाखमा निर्माण गरिएको थियो ।
त्यस्तै, सोही वडाको जगतमा चन्द्रबहादुर गुरुङको बङ्गुर फार्मसहित ५०/५० किलोको दुई वटा बङ्गुर बगाएको वडाध्यक्ष सुमन गुरुङको भनाइ छ । निरन्तर परेको पानीले विभिन्न स्थानबाट बाढी आउनुका साथै मर्स्याङ्दी नदीलगायत खोलाहरुमा पानीको बहाव बढिरहेकाले अझै क्षति हुन सक्ने वडाध्यक्ष गुरुङको भनाइ छ । उनले भने, भौतिक क्षति भएपनि हालसम्म मानवीय क्षति भने हुन पाएको छैन । यस सडकखण्डमा पर्ने सोही वडाको रामबजार पनि बाढीले केही घरहरु उच्च जोखिममा परेको वडाध्यक्ष गुरुङले बताए ।
यहाँ विसं २०७५ मा पनि केही स्थानीयवासीलाई बाढीले बगाएको थियो भने घरहरुमा क्षति पुगेको थियो । त्यस्तै, बेँसीशहर चामे सडक खण्डअन्तर्गत मनाङको नासो गाउँपालिका र चामे गाउँपालिका जोड्ने तिमाङ खोलामा रहेको बेली बिज्र समेत बगाएको मनाङबाट सुरेन्द्र बरालले जानकारी दिए । उनले भने, साथै धारापानीको केही घरमा क्षति पुगेको छ भने, नासो गाउँपालिका १ स्थित ताल बजारमा रहेको सबै घरहरु उच्च जोखिम बनाएको छ । त्यहाँ रहेका सबै घरहरु मर्स्याङ्दी नदीले डुबाउन सक्ने खतरा बढेकाले त्यहाँका स्थानीयहरुको उद्धार भइरहेको उनले बताए ।रासस