म्याग्दी । लगातारको वर्षा पछि कालीगण्डकीले बेनी बजार संरक्षणका लागि बनाइएको तटबन्ध भत्काए पछि बेनी बजार जोखिममा परेको हो । बुधबार राती देखि नदीमा पानीको सतह उच्च भएका कारण जेसिज भवन देखि करिब एकसय मिटर माथि सम्मको तटबन्धन नदी कटानका कारण भत्किएको छ ।
पानीको सतह उच्च भएसँगै नदी कटानको जोखिम बढ्दै गएको छ । बजारदेखि माथि रहेको अर्थुङ्गे गाउँबाट झरेको बाढी अस्पतालचोक हुँदै बेनीको कालिपुल स्थित बसपार्कमा पुगेको छ । बसपार्क ढुङ्गा र हिलो माटोले पुरिएको छ । पारकिङ गरेर राखेका सवारी सधानहरु हिलो माटो सहितको ढुङ्गा र ग्रेगरले पुरिन थालेका छन् । बासपार्कस्थित कालिगण्डकी नदीमा बनाइएको तटबन्धन पनि भत्किन थालेकोले बजार जोखिममा रहेको स्थानीयको भनाई छ ।
बर्षा नरोकिएकाले अझै नदीमा पानीको सतह बढ्न सक्ने अनुमान गरिएको छ । पानीको सतह बढ्ने र नदी किनारका वस्तीहरु कटानको जोखिम भएकाले सर्तकर्ता अपनाउन प्रशासनले सर्वसाधरणहरुमा अनुरोध गरेको छ ।
यसै गरी निरन्तरको वर्षाका कारण विभिन्न स्थानहरुमा बाढी र पहिरो गएपछि बेनी जोमसोम सडक, बेनी दरवाङ सडक र ग्रामिण सडकहरु पूर्णरुपमा अवरुद्ध भएका छन् ।
निरन्तर वर्षासँगै विभिन्न ठाउँमा पहिरो जाँदा म्याग्दीका २९ घर परिवार विस्थापित भएका छन् । अन्नपूर्ण गाउँपालिकाको शिख, बेनी नगरपालिकाको सल्लेरी, बगरफाँट, डाँडाखेत र मङ्गलाको तल्लो डडुवामा पहिरोको कारण सर्वसाधरण विस्थापित भएका हुन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पहिरोका कारण बेनी २ बगरफाँटमा नौ र वडा नम्बर ८ सल्लेरीमा चार घरपरिवार विस्थापित भएका छन् ।
यसैगरी बेनी ४ डाँडाखेतमा तीन परिवार विस्थापित भएका छन् । पहिरोबाट अन्नपूर्ण ५ घोस्केखोरमा सात, स्वातमा तीन र पाउद्वारमा दुई घरमा क्षति पुगेको छ । लोकेन्द्र खत्री, खेमराज पौडेल र सानु किसानका परिवार विस्थापित भएक छन् ।
मङ्गला गाउँपालिका २ तल्लो डडुवा (कुकुर बिसौना)मा पहिरोले कृष्णबहादुर दर्जीको ढुङ्गा, माटो र काठले बनेको दुई तले घर भत्किएको छ । घर भत्किएपछि दर्जीका १६ जनाको परिवारलाई आफन्तकोमा सारिएको बताईएको छ ।
निरन्तरको वर्षासँगैको पहिरोले म्याग्दीका सबै सडक अवरुद्ध बनेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी मलढुङ्गा, बेनी बागलुङ्ग, बेनी जोमसोम सडक अवरुद्ध भएका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिनु भयो । उहाँका अनुसार बेनी दरवाङ, बेनी पाखापानी, बेनी बरंजा, गलेश्वर मौवाफाँट चिमखोला कुइनेमङ्गले, पोखरेबगर घार शिख चित्रेलगायत सबै ग्रामीण बस्ती जोड्ने सडकमा यातायात ठप्प भएको छ ।
कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा आएको बाढीले खतराको तह नाघेको छ । तटीय र जोखिमयुक्त ठाउँका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।जनता समाचारबाट साभार