नवलपुर। निरन्तर बर्षा सँगै आएको बाढीले नवलपुर जिल्लाको विभिन्न क्षेत्रहरु डुबानमा परेको छ । नारायणी नदीमा आएको बाढीले गैँडाकोट २ को बोटे टोल डुवानमा परेको हो ।
यस्तै कावासोती १५ अमलटारी क्षेत्र डुबानमा परेका छन । गैडाकोटको बोटे टोलमा रहेका करिव ३५ घरपरिवारलाई तत्कालका लागि अक्सफोर्ड कलेजमा सारिएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिइन।
यता अमलटारी क्षेत्रका नारायणी नदि आसपास रहेका पाँच वटा रिसोर्ट डुबानमा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताए । क्षतिको विवरण भने आउन बाँकी रहेको छ । त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको छ ।
लगातारको वर्षातको पानी र खोलाको बाढीले नारायणीमा पानीको सतह बढ्दै गएको हो । आगामी ३ दिन अझै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।