अविरल वर्षाका कारण आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको क्याम्पमा क्षति पुगेको छ । आयोजनाको संरचनामा भने सुरक्षित रहेको मेलम्ची खानेपानी विकास समिति बताउँछ । हेलम्बु गाउँपालिका-१ आम्बाथाङमा रहेको मेलम्ची खानेपानी आयोजनाभन्दा केही तल रहेको क्याम्प बाढीले बगाएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद बताए ।

उनले भने, ‘खानेपानीको मुहानमा रहेको हेडवर्क्समा बाढी पस्यो । संरचनामा अहिलेसम्मको अवस्था हेर्दा सुरक्षित छ । तर हेडवर्क्सभन्दा तल रहेको लेभर क्याम्प बगाएको छ ।’ लेवर क्याम्पमा हेडवर्क्स निर्माण गरिरहेका कामदारहरू बस्ने गरेका थिए ।

बाढीले क्याम्प बगाएपछि त्यहाँका कामदारको अवस्थाबारे जानकारी नआइसकेको पन्तको भनाइ छ । तर, क्याम्पभित्र हताहति भएको हुन सक्ने आशंका उनले व्यक्त गरेका छन् । प्रवक्ता पन्तले भने, ‘हेडवर्क्सका संरचनाहरू सबै पानीले डुबाएको छ । सरंचनाहरू पानीमुनि देखिन्छन् । तर क्षति देखिएको छैन अहिलेसम्म ।

पानी कम भएपछि मात्रै एकिन भन्न सकिन्छ ।’ खानेपानीको मुहानको गेट बन्द गरिएकाले सुरुङ सुरक्षित रहेको उनले बताए । सडक अवरुद्ध भएका कारण उक्त स्थानमा जान सम्भव नभएको उनको भनाइ छ । मेलम्ची आयोजनाकै दोस्रो चरणको निर्माणस्थल याङ्ग्री र लार्केमा रहेको क्याम्पमा पनि क्षति पुगेको छ ।

पाचँपोखरी थाङपाल गाउँपालिकाको इन्द्रावति खोलामा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको प्रवेशमार्गमा क्षति पुगेको हो । कामदारहरू बसेको क्याम्पमा समेत -क्षति पुगेको छ ।