सिन्धुलीमा सुनकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको अवस्थामा शव फेला परेको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका–५ मुलकोटस्थित कोसी किनारामा एक पुरुषको शव फेला पारिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार अन्दाजी ३०÷३५ वर्षका पुरुषको शव सुनकोसी नदी किनारामा फेला पारिएको हो । सुनकोसीले बगाएर ल्याएको माछा टिप्न गएका स्थानीयले घोप्टो परेको नाङ्गै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उक्त शव भेटिएको स्थानमा प्रहरी चौकी रातमाटाको टोली पुगेर अनुसन्धान थालेको छ । उक्त शव मंगलबार राति सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले बगाएको स्थानीयको हुन सक्ने आशंका गरिएको सिन्धुलीका प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोज कुमार लामाले बताए ।