काठमाडौं । तल्लो जात भन्ने थाहा पाएर कोठा भाडा नदिएको आरोप लागेकी घरबेटी विरुद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरीदर्ता भएको छ । विहीबार केही पत्रकारसहित पुगेकी पीडित संचारकर्मी समेत रहकी रुपा सुनारले जाहेरी दर्ता गरेकी हुन् ।
काठमाडौं महानगरपालिका-११ बबरमहलकी ५८ वर्षिया सरस्वती प्रधानविरुद्ध जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८अनुसार जाहेरी दिइएको हो ।रुपाका अनुसार घरबेटी प्रधानले कोठाको कुराकानी मिले पछी जात सोधेकी थिइन् । दलित समुदायको भन्ने थाहा पाएपछि भने भाडादिन इन्कार गरेको रुपाले जाहेरीमा उल्लेख गरेकी छन् ।
दलित अधिकारकर्मी तथा पत्रकार सहित महानगरीय प्रहरी वृत्त सिंहदरबारमा १२ बजे नै जाहेरी दर्ता गर्न गए पनि प्रहरीले प्रमाण नपुगेकोभन्दै दर्ता गर्न मानेको थिएन । करिब ५ घण्टासम्मको दबाबपछि प्रहरीमा जाहेरी दर्ता गरेको रुपाले फेसबुकमार्फत बताएकी छन् ।