गुल्मीमा सुत्केरी महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि गाउँ नै सिल गरिएको छ ।
गुल्मी दरबार गाउँपालिका–७ की २१ वर्षीया सुत्केरीमा कोरोना पुष्टि भएको हो । सुत्केरीमा कोरोना देखिएपछि वडाअध्यक्ष टोपबहादुर बस्नेतले सूचना जारी गर्दै उक्त वडाका मानिसलाई घरबाहिर ननिस्कन र बाहिरकालाई प्रवेश नदिने आग्रह गरेका छन् । बस्नेतका अनुसार संक्रमित महिलालाई श्रीमानबाट कोरोना संक्रमण भएको आशंका गरिएको छ । ती महिलाका श्रीमान गत ११ जेठमा भारतबाट आएका थिए ।
१४ दिन क्वारेन्टिनमा बसेर पीसीआर रिपोर्ट नेगेटिभ आएपछि २७ जेठमा घर गएको बस्नेतले बताए । श्रीमतीमा कोरोना देखिएपछि श्रीमानको फेरि पीसीआर विधिबाट परीक्षण गर्ने तयारी गरिएको छ ।
यस्तै परिवारका अरु सदस्य र सम्पर्कमा आएका व्यक्तिहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिने अध्यक्ष बस्नेतले जानकारी दिए । यसैबीच गुल्मीमा कोरोना संक्रमितको कूल संख्या १ सय ७४ पुगेको छ । जिल्लामा कोरोनाबाट चार जनाको ज्यान गएको छ ।