Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चीनतर्फ गएको पहिरोले नदी थुनिएपछि तामाकोसी आयोजनाको जलाशय खाली गरिदै

चीनतर्फ गएको पहिरोले नदी थुनिएपछि तामाकोसी आयोजनाको जलाशय खाली गरिदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०७८ शनिवार • ११:२४:३४ बजे
  • 1.8K
    SHARES
  • चीनतर्फ गएको  पहिरोले  नदी थुनिएपछि तामाकोसी आयोजनाको जलाशय खाली गरिदै

    ठूलो बाढीको जोखिमबाट तामाकोसी नदी तटीय क्षेत्रका बासिन्दालाई जोगाउन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशय खाली गर्न थालिएको छ। शनिबार बिहान सात बजेदेखि जलासयबाट पानी छाड्न थालिएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए। चीनतर्फ गएको पहिरोले तामाकोसीको सहायक खोला थुनिएपछि दोलखा, रामेछापको तामाकोसी तटिय क्षेत्रमा त्रास बढेको छ। दोलखाको नेपाली सीमा नजिकै चीनको तिङ्ग्री काउन्टी क्षेत्रमा तामाकोसी नदीको सहायक रोङ्सी खोला थुनिएर ठूलो ताल बनेको चिनियाँ पक्षले जनाएको छ।

    images

    पहिरोले थुनिएको खोला ताल बनेर बसेको सूचना चिनियाँ पक्षले दिएपछि जिल्ला प्रशासन कार्यालय दोलखाले तटिय क्षेत्रमा सतर्कता अपनाउन गए राति नै सूचना जारी गरेको थियो। दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले कुनै पनि वेला उक्त ताल फुटेर तामाकोसीमा बाढी आउन सक्ने सम्भावना रहेकाले नदीतटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जाने समयका लागि जलाशयको पानी छोडिएको जानकारी दिए। ‘पहिरो खसेर बनेको ताल फुटेर बाढी आए पनि जलासयको बाँधले डेढ घण्टा थेग्छ सक्छ भन्ने छ,’ सिडिओ घिमिरेले भने, ‘चिनियाँ पक्षसँग समन्वय गरेर हामीले अहिले सतर्कताको काम अघि बढाएका छौँ। ताल निकै ठूलो बनेको खबर आएको छ।

    उनले एकैपटक ताल खोलिएर तामाकोशी नदीको तटिय क्षेत्रमा ठूलो क्षति हुन सक्ने जोखिम रहेको बताए। ‘प्राकृतिक रुपमा आफैँ खोलिएर थोरै थोरै गरेर तालको पानी घट्यो भने जोखिम नहोला,’ घिमिरेले भने, ‘केहीगरी एकैपटक ताल फुट्यो भने ठूलो बाढी आउन सक्ने डर छ। हामी त्यसतर्फ सचेत छौँ।’ अप्ठ्रो ठाउँमा पहिरो गएर ताल बनेकाले त्यसलाई खोल्न कठिन भएको जानकारी आफूलाई चिनियाँ पक्षले गराएको सिडिओ घिमिरेले बताए।

    माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता गणेश न्यौपानेले ताल फुटेर ठूलै बाढी आए तटीय क्षेत्रका मानिस सुरक्षित स्थानमा जानका लागि जलासय खाली गर्न थालिएको जानकारी दिए। तामाकोसी जलाशयको पानीको सतह १९ सय ७८ मिटरमा झार्ने उनले बताए। तामाकोसी बाँधको क्षमता ५ हजार घनमिटरसम्म पानी थेग्न सक्ने छ। खोला थुनिएकाले माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थलको माथिल्लो भेगमा तामाकोसीमा पानीको मात्रा घटेको स्थानीय प्रशासनले जनाएको छ। चीनमा पर्ने लप्ची उपत्यका नजिकै पहिरो गएर नदी थुनिएको हो।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology