दुई दिन केही कम भएको वर्षा आज (आइतबार) देखि फेरि बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज (आइतबार) र भोलि (सोमबार) वर्षाको मात्रा बढ्ने देखिएको हो। यस क्रममा कतिपय स्थानमा निकै ठूलो (धेरै भारी) वर्षा पनि हुने सम्भावना छ।
यसपल्ट देशको पूर्वी क्षेत्रमा मनसुन बढी सक्रिय हुने देखिएको छ,’ मौसमविद् बासीले आइतबार बिहान नेपालखबरसँग भनिन्, ‘लुम्बिनी प्रदेशको पूर्वी भूभागसमेत बागमती प्रदेशदेखि पूर्व आज र भोलि निकै वर्षा हुने सम्भावना देखिएको छ।’ उनले अगाडि भनिन्, ‘त्यसमा पनि पहाडी भेगभन्दा तराई क्षेत्रमा बढी वर्षा हुने सम्भावना छ।
मौसमविद् बासीका अनुसार यसअघि मनसुन पश्चिमी क्षेत्र र विशेषगरी पहाडी भेगमा सक्रिय भएको थियो भने यसपटक देशको पूर्वी भेग र विशेष गरी तराई क्षेत्रमा मनसुन सक्रिय हुने देखिएको हो। मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानमा भने मेघगर्जनरचट्याङसहित भारी वर्षा हुने सम्भावना छ। बुलेटिनमा अगाडि भनिएको छ: साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।’