नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा चिकित्सक र नर्समाथि कुटपिट गर्ने तीनजना आरोपी आदालतको आदेशमा धरौटीमा रिहा भएका छन् ।
चिकित्सक र नर्समाथि कुटपिट मुद्दाका आरोपी दाङका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले आइतबार धरौटीमा छाड्न आदेश दिएको हो । उनीहरुलाई जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
गत जेठ १३ गते बेलुकी दाङ तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका ५४ वर्षीय कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित बनेका उनीहरूले उपचारमा लापरबाही भएको भन्दै त्यहाँ कार्यरत चिकित्सक र अन्य स्वास्थ्यकर्मीमाथि कुटपिट तथा अस्पतालमा तोडफोड गरेका थिए ।
उनीहरुमध्ये मानबहादुर मृतकका भाइ र दुईजना छोरा हुन् । भेरी अस्पतालमा भएको उक्त घटनाको चौतर्फी विरोध भएपछि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो ।