मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप देशभरका ६४ जिल्लामा देखिएको छ । खेत र बारीको मकै बाली नष्ट गर्ने उक्त किराको प्रकोपबाट किसानहरु पिडित भइरहँदा नियन्त्रणकारी निकायले भने फौजी किराको आतंकविरुद्ध लड्न प्रशस्त सूचना र तथ्याङ्क अभाव भएको बताएका छन् ।
केही समयअघिसम्म खेतको मकैलाई क्षति पुर्याएको फैजी किरा अहिले देशभरको ६४ जिल्लामा फैलिएको जानकारी आएको प्लान्ट क्वरेन्टिाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । किरा फैलिएको जिल्ला मोटामोटी जानकारीमा आए पनि त्यसको अवस्था र क्षतिबारे कुनै विवरण तल्ला निकायबाट प्राप्त नभएको केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।
मकै बाली नष्ट गर्ने अमेरिकी फौजी किराको फैलावट र क्षतिबारे कुनै विवरण प्राप्त नभएको संघिय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि जनाएको छ । अघिल्लो वर्ष किराका कारण हुने क्षति अधिक रहेकामा यस पटक त्यस्तो नभएको एक अधिकारी बताउँछन् ।