आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ। अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले काठमाडौं प्रहरी आएको माग अनुसार अनुसन्धानका लागि अनुमति दिइएको बताए। संग्रौलासँगै उनका पति हिमाल उपाध्याय र शर्मिला वाइवालाई पनि थुनामा राख्न अनुमति दिइएको छ। युवा संघकी नेतृ खुश्बु (नविता) घिमिरेले दिएको किटानी जाहेरीका आधारमा संग्रौला पक्राउ परेकी थिइन्।
घिमिरेमाथि एक महिनाअघि संग्रौलाले प्रहरी वृत्त, गौशालामा कुटपिट गरेको जाहेरीमा भनिएको छ। संग्रौलाले महाराजगञ्ज प्रहरीका असई मणिकान्त झालाई रंगभेदी अभिव्यक्ति दिएर दुर्व्यवहार गरेपछि पुरानो घटना पनि सतहमा आएको थियो। र, प्रहरीले उनको खोजी थालेको थियो।