पोखरा । मंगलबार बिहान काठमाडौंको दक्षिणकालीमा मृतावस्थामा भेटिएकी सन्तोषी सुब्बाको हत्या अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक स्थायी ठेगाना भएका दक्षिणकालीस्थित वर्कशपमा कार्यरत सुरेश तिमल्सिनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनलाई प्रहरीले आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । प्रहरीका अनुसार सुरेशले सन्तोषीलाई गत आइतबार मात्रै भेटेको पाइएको छ ।
सन्तोषीलाई भेटेपछि सुरेश र सन्तोषी दक्षिणकाली मन्दिरतर्फ गएको र दिनभरी उनीहरु सँगै बसेको पाइएको छ । त्यसपछि सुरेशले सन्तोषीको हत्या गरी त्यहाँबाट ट्याक्सी चढेर बल्खुतर्फ आएका थिए । प्रहरीका अनुसार आमा बिरामी हुनुहुन्छ भन्दै सुरेश राती ११ बजेतिर ट्याक्सी चढेर बल्खुतर्फ आएको पाइएको छ । आमालाई कुनै अस्पतालमा पुराएर उनी भक्तपुर गई बसेको र बुधबार मात्रै उनी असन आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सुब्बाको रहेको बुधबार प्रहरीले पुष्टि गरेको थियो । प्रहरीले मंगलबार दक्षिणकालीको शौचालयबाट महिलाको शव बरामद गरेको थियो ।
प्रहरीका अनुसार टाउकोमा गह्रुँगो वस्तुले हिर्काएको र अनुहार क्षतविक्षत भएको अवस्थामा शव फेला परेको थियो ।