पोखरा । पोखरामा १६ वर्षीय किशोरीको बलात्कार गरी किशोरीको नाममा नक्कली फेसबुक खोलेर बलात्कारको फोटो र भिडिओ सार्वजनिक गरिदिएपछि एक जना भारतीत नागरिक पक्राउ परेका छन ।
८ महिनाअघि १६ वर्षीय किशोरी बलात्कृत भएको घटना बिहीबार सार्वजनिक भएको छ। बलात्कार आरोपीले ती किशोरीको नाममा नक्कली फेसबुक खोलेर बलात्कारको फोटो र भिडिओ सार्वजनिक गरिदिएपछि उक्त घटना सार्वजनिक भएको हो। बलात्कार भएको ८ महिनापछि बुधबारमात्रै पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।
पीडितको जाहेरीका आधारमा बलात्कार आरोपी भारतको बिहार प्रदेश अन्तर्गत पश्चिमी चम्पारण जिल्ला फतुछापर घर भई पोखरामा बसेर काम गर्दै आएका २७ वर्षीय ईन्द्रजितकुमार शर्मालाई प्रहरीले बिहीबार नै पक्राउ गरेको थियो। उनका अनुसार किशोरीलाई विभिन्न प्रलोभन, डर, धम्की दिएर ईन्द्रजितले किशोरीलाई बलात्कार गरेको पीडित परिवारको जाहेरीमा उल्लेख छ।
बलात्कार आरोपमा पक्राउ परेका ईन्द्रजितलाई थप अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए। बलात्कारको जाहेरी आउनासाथ आरोपीको खोजी गरेर पक्राउ गर्न सफल भएको डिएसपी हमालले बताए।
ईन्द्रजितको मोबाइलबाट किशोरीको अश्लिल फोटो र भिडिओ समेत फेला परेको प्रहरीले जनाएको छ। किशोरीको नाममा नक्कली फेसबुक बनाएर पोस्ट गरेको भिडिओ र फोटो भने तत्काल हटाएको डिएसपी हमालले बताए।