मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले प्रदेश नं १ र बागमती प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले ती स्थानहरूका पहाडी भू-भागमा पहिरो र गेग्रान बहावको जोखिम रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको हो ।
महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका अधिकांश भूभागमा सामान्य बदली रहि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।
यसैगरी आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।