Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँका कृषकलाई घाँसका बिरुवा वितरण

मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँका कृषकलाई घाँसका बिरुवा वितरण

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १२, २०७८ शनिवार • १८:४२:३५ बजे
  • 559
    SHARES
  • मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँका कृषकलाई घाँसका बिरुवा वितरण

    दमौली । मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँका कृषकलाई घाँसका बिरुवा वितरण गरिएको छ । तनहुँको घिरिङ गाउँपालिका–२ स्थित देउराली, दुम्कोट, घुर्लीछाप, घ्याछापका कृषकलाई घाँसका बिरुवा, औषधि, झोलमलका लागि ड्रम र जोख्ने मेशिन वितरण गरिएको हो ।

    images

    गण्डकी प्रदेशको भूमिसुधार तथा गरिबी निवारण मन्त्रालयमार्फत गत फागुनदेखि उक्त चार गाउँमा मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँको कार्यक्रम सञ्चालित छ । यस कार्यक्रममार्फत उक्त चार गाउँका १०५ घरधुरी आबद्ध रहेका कृषि प्राविधिक लुना अर्यालले जानकारी दिए। उनका अनुसार ती कृषकलाई करीब ३२ हजार डाँलेघाँस र ६२ हजार भुइँघाँसका बिरुवा वितरण गरिएको छ ।

    त्यस्तै मलका लागि २५ ड्रम, चार गाउँका लागि एक÷एक गरी चार बोयर जातका बोका, होर्डिङबोर्ड र दुई जोख्ने मेशिन वितरण गरिएको छ । बाख्राका लागि औषधि पनि वितरण गर्ने तयारी गरिएको अर्यालले बताए। मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ कार्यक्रम चार वर्ष सञ्चालन हुनेछ । पहिलो वर्षका लागि रु ४० लाख बजेट विनियोजन गरिएको छ । यसमा ८५ प्रतिशत मन्त्रालयले सहयोग गरेको छ भने १५ प्रतिशत समूहले लागत साझेदारी गर्नुपर्नेछ ।

    यस कार्यक्रममार्फत देउरालीका ५०, दुम्कोटका २३, घुर्लीछापका १७ र घ्याछापमा १५ घरधुरी आबद्ध छन् । कृषि प्राविधिक अर्यालका अनुसार यस वर्ष उक्त गाउँमा बाख्रापालनका लागि आवश्यक सहयोग गरिएको छ । “यस वर्षको बजेट बाख्रापालनमा लक्षित छ, आगामी वर्ष तरकारी, फलफूल लगायतका लागि सहयोग गरिनेछ”, उनले भने, “कृषक जागरुक र उत्साहित छन् ।” घिरिङ बाख्रापालक कृषक समूहकी अध्यक्ष विमला आलेले कार्यक्रम लागू भएपछि यहाँका कृषक व्यावसायिक बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार यहाँका कृषकले कम्तीमा १५२० बाख्रापालन गर्दै आएका छन् ।

    “यो कार्यक्रम कृषकमैत्री छ, निर्वाहमुखी रुपमा मात्रै कृषि र पशुपालन गर्दै आएका कृषकलाई व्यावसायिक बन्न प्रेरित गरिएको छ”, उनले भने। प्रदेश सरकारका निवर्तमान अर्थमन्त्री किरण गुरुङको सिफारिसमा मन्त्रालयले यस गाउँलाई मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँका रुपमा छनोट गरेको थियो ।

    त्यसका लागि कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले प्राविधिक सहयोग गरेको थियो । निर्वाहमुखी कृषि पेशा गर्दै आएका कृषकलाई व्यावसायिक बनाउँदै नमूना गाउँ बनाउने लक्ष्यसहित प्रदेश सरकारले विसं २०७५ चैत १० गतेदेखि प्रदेशभर यो कार्यक्रम लागू भएको घोषणा गरेको थियो ।

    सोही बमोजिम यहाँका विभिन्न पालिकामा मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ सञ्चालित छ । तनहुँको ऋषिङ, भिमाद, देवघाट, शुक्लागण्डकी, भानु, आँबुखैरेनीलगायत गाउँमा मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ कार्यक्रम लागू गरिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology