Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागलुङको तमानखोला गाउँपालिकामा ‘बालबालिकालाई झिकाऔँ, टिकाऔँ र सिकाऔंँ’ कार्यक्रम

बागलुङको तमानखोला गाउँपालिकामा ‘बालबालिकालाई झिकाऔँ, टिकाऔँ र सिकाऔंँ’ कार्यक्रम

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १५, २०७८ मंगलवार • १८:१३:५९ बजे
  • 1.1K
    SHARES
  • बागलुङको तमानखोला गाउँपालिकामा ‘बालबालिकालाई झिकाऔँ, टिकाऔँ र सिकाऔंँ’ कार्यक्रम

    बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले ‘बालबालिकालाई झिकाऔँ, टिकाऔँ र सिकाऔंँ’ कार्यक्रम ल्याएको छ । यहाँका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउन र बालबालिकालाई विद्यालयप्रति आकर्षित गर्नका लागि गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो ।

    images

    सामाजिक विकासको मेरुदण्डका रुपमा रहेको शिक्षाको विकास तथा बालबालिकालाई विद्यालयप्रति प्रोत्साहन गर्नका लागि ल्याएको उक्त कार्यक्रमका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७८०७९ मा रु २ करोड ४६ लाख ४८ हजार ५०० बजेट विनियोजन गरेको छ । उक्त आर्थिक वर्षका लागि गाउँपालिकाले कूल रु २७ करोड ४० लाख बजेट विनियोजन गरेको छ ।

    ‘बालबालिकालाई झिकाऔँ, टिकाऔँ र सिकाऔंँ’ कार्यक्रमका लागि बालविकास केन्द्रलाई निरन्तरता दिंदै यसै वर्षदेखि थप एक बालविकास केन्द्र स्थापना गर्नुका साथै नेपाल सरकारको बजेट वक्तव्यमा उल्लेख भए बमोजिम बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीका लागि गाउँपालिकाको तर्फबाट रु ७ हजार थप तलबको व्यवस्था गरिएको छ । “बालबालिकालाई विद्यालयमा घरबाट झिकाउने, टिकाउने र सिकाउने हाम्रो उद्देश्य हो”, तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भने, “विकट गाउँमा शिक्षाको पहुँच बढाउने र सबै बालबालिकालाई विद्यालयमा ल्याउने हाम्रो योजना छ ।” उनका अनुसार यसमा ‘हाम्रो पालिका हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्‍याउँ’ भन्ने अभियान समेत जोडिएको छ।

    शिक्षाको उज्यालो घामबाट कोही पनि बालबालिका बञ्चित हुन नपरोस् भन्ने मूल उद्देश्यका साथ निःशुल्क, सहज र सर्वसुलभ शिक्षा प्रदान गर्नका लागि गाउँपालिकाले करारमा शिक्षक व्यवस्थापन गर्दै आएको छ। परम्परागत सीपलाई आधुनिक सीपमा विकास गर्न, परम्परागत कृषि प्रणालीलाई आधुनिक कृषि प्रणालीमा रुपान्तरण गर्ने ज्ञान सीपको विकास गर्न ‘एक विद्यार्थी एक सीप, एक विद्यालय एक उत्पादन’ कार्यक्रमका लागि समेत बजेट विनियोजन गरेको छ ।

    तमानखोला संस्कृति र सम्पदा हाम्रो शान, हाम्रो पहिचान’ भन्ने भावका साथ गाउँपालिकाको संस्कृति, सम्पदा र ऐतिहासिक स्थललाई यत्रतत्र सर्वत्र परिचित गराई स्थानीय तथा राष्ट्रिय स्तरमा चिनाउन गाउँपालिका गान निर्माण गरिनेछ । यसका लागि रु एक लाख ५० हजार बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष बुढामगरको भनाइ छ।रासस

  • सम्बन्धित विषय:

  • # रासस
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology