पोखरा । कोभिड १९ कारण बन्द भएको आन्तरिक उडान आजबाट नियमित रुपमा सञ्चालनमा आउने भएको छ ।
मन्त्रिपरिषद्को निर्णय अनुसार दुई महिना देखी बन्द रहेको हवाई उडान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि आन्तरिक उडान नियमित रुपमा शुरु गर्ने निर्णय गरेको हो ।
उडान नियमित भए पनि पुर्ण रुपमा सञ्चालन भने नहुने मन्त्रालयले जनाएको छ । नेपाल नागरिक उडान प्राधिकरणले दैनिक ६४ वटा उडानमात्रै गर्ने गरी तयारी गरेको छ । यो भनेको ५०% मात्रै हो ।
बुद्ध एयरले दैनिक ३१ उडानको अनुमति पाएको छ । यति एयरलाइन्सले १५, श्री एयरलाइन्सले ७, सौर्य एयरलाइन्सले ३ उडान पाएको छ । दुर्गम भेगमा उडाउने कम्पनीले भने काठमाडौंबाट दैनिक ८ वटा उडानको अनुमति पाएका छन् । अहिले काठमाडौंबाट तारा एयर र समिट एयरले मात्र दुर्गममा उडान गर्दै आएका छन् ।
सीता एयरले दुर्गममा उडाउने भएपनि उसले क्षेत्रीय विमानस्थललाई आधार बनाएर दुर्गममा सेवा दिइरहेको छ ।
हवाई यात्रा गर्ने यात्रुले तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । कोरोनाका लक्षण देखिएका यात्रुले जहाज चढ्न पाउने छैनन् भने मास्क अनिवार्य गरिएको छ ।