उपत्यकामा सीडीओको बैठक बस्दै, निषेधाज्ञा एक हप्ता थपिने । त्यसका लागि छलफल गर्न आज दिउँसो ३ बजे उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठक बस्दैछ । आज बस्ने बैठकमा निषेधाज्ञा एक हप्ता थपिनेबारे छलफल हुनलागको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।
उनले भने, ‘आज ३ बजे हामी बैठक बस्दै छौं । साँझ ५ बजेसम्ममा निर्णय सार्वजनिक गर्छौं।’ उनका अनुसार थप क्षेत्र खुला गर्ने विषयमा विज्ञहरूसँग सरसल्लाह भइरहेको छ। यसअघि घोषित निषेधाज्ञाको अवधि सोमबार राति १२ बजेबाट सकिँदै छ। पछिल्लोपटक थपिएको निषेधाज्ञामा २५ वटाभन्दा बढी सिट भएका सार्वजनिक बसलाई जोर बिजोर प्रणालीका आधारमा सञ्चालन हुन दिइएको छ भने खाद्यपसल बिहान ६ बजेदेखि तथा अन्य पसल पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुला गरी सहज बनाइएको छ। यसपटक थपिने निषेधाज्ञा अझ खुकुलो बनाउने तयारी भइरहेको हो।
काठमाडौं उपत्यकामा गत वैशाख १६ मा सुरु निषेधाज्ञा पकटपकट अवधि थपेर लम्ब्याउने क्रम जारी छ। तर क्रमशः खुकुलो पनि बनाउँदै लगिएको छ। कोरोना संक्रमण नियन्त्रण भइनसकेकाले निषेधाज्ञा हटाइहाल्ने अवस्था नरहेको उपत्यकाका सीडीओहरूले बताएका छन्।