पोखरा । फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराले घरभाडामा विशेष छुट दिन आग्रह गरेको छ । फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराले कम्तीमा पनि ५० प्रतिसत घरभाडा छुट गर्न घरधनी तथा कम्पनीलाई आग्रह गरेको हो।
हाल देखिएको आर्थिक मन्दीले व्यवसाय चौपट भएको बताउँदै न्यूनतम ५० प्रतिसत भाडा छुट गरी व्यवसायीलाई राहत दिन पोखरा महानगरपालिकाभित्रका घरबहाल लगाउने घरधनी तथा कम्पनीलाई अनुरोध गरिएको फेन्सी तथा रेडिमेड व्यवसायी संघका अध्यक्ष राजु पौडेलले जानकारी दिएका छन्।
कोरोना प्रभावले व्यवसायमा देखिएको मन्दीले संपूर्ण व्यवसायीलाई ठूलो समस्या परेको भन्दै हाल बैंक व्याज तिर्ने बेलामा समस्या भएको संघले ठहर गरेको छ। सकेसम्म सो समयको बैंक ब्याज मिनाह गरिदिन आग्रह गर्दै वा सो समयको बैंक ब्याज बुझाउने समय थप गर्न र तिर्न मिल्ने वातावरण बनाइदिन पनि संघले आग्रह गरेको छ।
साथै, यस विषम परिस्थितिमा संपूर्ण आफ्ना व्यवसायीहरुलाई धैर्यताका साथ सुरक्षित रहेर स्वाथ्य सुरक्षाका उपायहरु अवलम्वन गर्दै आ–आफ्नो व्यवसाय संचालन गर्न समेत संघले आग्रह गरेको छ।
