Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माणपछि एक घण्टाको बाटो २० मिनेटमा

म्याग्दीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माणपछि एक घण्टाको बाटो २० मिनेटमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७८ बिहिवार • १०:५०:३१ बजे
  • 940
    SHARES
  • म्याग्दीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माणपछि एक घण्टाको बाटो २० मिनेटमा

    म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो २० मिनेटमा छोटिएको छ ।

    images

    पूर्वाधार विकास कार्यालय म्याग्दीले पाखापानीको कमनाथ र कोटगाउँको सिमाना भएर बग्ने घोप्टेखोलामाथि २६५ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेपछि यात्रा अवधि छोटिएको हो ।

    कोटगाउँका रोशन पुनले भीर, जङ्गल र खोल्साको घुमाउरो र जोखिमयुक्त बाटोमा यात्रा गर्नुपर्ने समस्या हटेको बताए । “पहिले कोटगाउँबाट कमनाथ पुग्न एक घण्टा हिँड्नु पर्दथ्यो”, उनले भने, “पुल बनेपछि २० मिनेटमा पुगिन्छ ।” पुल निर्माण भएपछि पाखापानीको कमनाथ, कोटगाउँ, रायखोर र मुलपानीका ५०० भन्दा बढी घरधुरी लाभान्वित भएका रघुगङ्गा–६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए ।

    कमनाथमा रहेका वडा कार्यालय, स्वास्थ्यचौकी र अमर माविमा आउन जान स्थानीयवासीलाई सहज भएको छ । सबैभन्दा बढी सहज विद्यार्थी र ज्येष्ठ नागरिकलाई भएको छ ।

    पुल निर्माणका लागि हिमशिखर÷जयलक्ष्मी जेभीले विसं २०७६ फागुन ९ गते रु दुई करोड ६२ लाख तीन हजार ४४३ मा ठेक्का सम्झौता गरेको थियो । सिं २०७८ साउन ८ गते पुल निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । निर्माण कम्पनीले लक्ष्यअघिनै पुल निर्माण गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज पौडेलले बताए ।

    निर्माण कम्पनीका कर्मचारी बाबुराम सापकोटाले कोरोनाको जोखिम, निषेधाज्ञा र बाढी पहिरोको असहज अवस्थामा पनि लक्ष्यअघिनै पुल निर्माण गर्न सफल भएको बताए । स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मजदुर परिचालन र निर्माण सामग्रीको व्यवस्थापन गरेर पुल निर्माणलाई निषेधाज्ञामा निरन्तरता दिएको उनले बताए ।

    धौलागिरि सेञ्चुरी पदमार्गमा पर्ने यो पुल पर्यटनका हिसाबले पनि महत्वपूर्ण बन्ने देखिएको छ । लामो दूरीको पुल अवलोकन गर्न पर्यटक आउने सम्भावना छ । यो म्याग्दीको दोस्रो लामो पुल हो ।

    यसअघि रघुगङ्गा–१ बेग र बादुक जोड्ने ३६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो । यसैबीच जिल्लाको मङ्गला गाउँपालिका–२ सिमलचौर र वडा नं ३ पखेरको सिमाना लुलीयाघाटमा म्याग्दी नदीमाथि पनि झोलुङ्गे पुल निर्माण भएको छ ।

    करिब ९० मिटर लामो पुल निर्माणका लागि हिमशिखर–रामकृष्ण जेभीले रु २९ लाख २० हजार ७०९ मा ठेक्का लिएको थियो । रासस

  • सम्बन्धित विषय:

  • # रासस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology