Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फेवातालको सिरानस्थित हर्पन खोलामा निर्माण गरिएको ‘सिल्टेसन ड्याम’ बाढीले भत्कायो

फेवातालको सिरानस्थित हर्पन खोलामा निर्माण गरिएको ‘सिल्टेसन ड्याम’ बाढीले भत्कायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७८ बिहिवार • १३:२०:०२ बजे
  • 1.9K
    SHARES
  • फेवातालको सिरानस्थित हर्पन खोलामा निर्माण गरिएको ‘सिल्टेसन ड्याम’ बाढीले भत्कायो

    पोखरा । फेवातालको सिरानस्थित हर्पन खोलामा निर्माण गरिएको ‘सिल्टेसन ड्याम’ बाढीले भत्किएको छ । फेवातालको संरक्षणका लागि तालको सिरान क्षेत्रका हर्पन, वेत्यानी र अँधेरीखोलाले बगाएर ल्याउने ढुंगा, गिटी, माटो, बालुवा लगायतका गेगर रोक्नका लागि दुई वर्षअघि निर्माण गरिएको ‘सिल्टेसन ड्याम’ गएराति वर्षासँगै आएको बाढीले बगाएको हो ।

    images

    ड्याम निर्माणको काम गुणस्तरहीन भएको भन्दै स्थानीय र जनप्रतिनिधिले पटक–पटक आवाज उठाउँदै आएका थिए । अविरल वर्षाका कारण राति फेवातालको मुख्य स्रोत हर्पन खोलामा निर्मित सिल्टेसन ड्याम बगाएको स्थानीय सुजन पराजुलीले जानकारी दिए । निर्माण भएको दुई वर्ष नपुग्दै बाढीले ड्यामको जगदेखि नै बगाएको उनले बताए । हर्पन खोला चनौटदेखि ठुलोखततर्फ आउँदा करिब १५ घर जोखिममा परेको उनले बताए ।

    गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा पिके जेभी कन्स्ट्रक्सनले सिल्टेसन ड्याम निर्माण गरेको हो । २०७५ साल भदौमा सम्झौता भई २०७६ साल असारदेखि निर्माण थालिएको ‘सिल्टेसन ड्याम’ मध्येको खहरे खोलामा निर्माण भएको ड्याम अघिल्लो वर्ष नै क्षति पुगेको थियो ।

    प्रदेश सरकार तथा महानगरपालिकाको २८ करोड ९६ लाखको संयुक्त लगानीमा फेवाताल संरक्षणको लागि हर्पन खोला, अँधेरीखोला, लौरुकखोला र बेतनी खोलाका ४ ठाउँमा ड्याम बनाइएको थियो । वेतयानी र लौरुकखोलामा ५० मिटर लम्बाई, ५० मिटर चौडाइ, ४ मिटर उचाइको ड्याम बनाइएको थियो ।

    त्यसैगरी अँधेरीखोला र हर्पन खोलामा १ सय मिटर लम्बाई, १ सय मिटर चौडाई, ४ मिटर उचाईको ‘सिल्टेसन ड्याम’ बनाइएको थियो । पोखरा महानगरपालिका–२४ मा पर्ने वेतयानी खोलामा निर्माण गरिएको ‘सिल्टेसन ड्याम’ श्री गीताजय नेपाल इश्वर जेभी, स्याङजाले निर्माण गरेको थियो । यसको लागत ५ करोड ४६ लाख ५८ हजार ९ सय ७५ थियो ।

    त्यसैगरी पोखरा–२४ मा पर्ने लौरुकखोलामा निर्मित ‘सिल्टेसन ड्याम’ खड्का कृष्णपि।के जेभी दाङले निर्माण गरेको थियो । यसको लागत ५ करोड ७४ लाख ८४ हजार ९ सय ९८ रुपैयाँ थियो । पोखरा महानगरको वडा नं। २३ र २४ मा पर्ने अँधेरीखोलामा निर्मित ‘सिल्टेसन ड्याम’ पनि खड्का कृष्ण÷पि।के जेभी दाङले नै निर्माण गरेको थियो । यसको लागत ९ करोड ६ लाख ४ हजार ५ सय ५८ थियो ।

    फेवातालको सबैभन्दा माथिल्लो सिरान क्षेत्रको हर्पनखोलामा निर्मित ‘सिल्टेसन ड्याम’ पनि खड्का कृष्ण÷पि।के जेभी दाङले नै निर्माण गरेको हो । यसको लागत ७ करोड ८८ लाख ६२ हजार ५ सय ४१ रहेको थियो । प्रत्येक वर्ष वर्षायाममा आउने बाढीसँगै फेवातालको क्षेत्रफल साँघुरिदै जान थालेपछि तालको सिरान क्षेत्रका खोलाबाट बगेर आउने ढुंगा, गिटी, माटो, बालुवा लगायतका ग्रेगर सिल्ट पोखरीमा जम्मा गराएर ताल पुरिनबाट जोगाउने उद्देश्यले बाँध निर्माण गरिएको थियो ।

    सिल्ट पोखरी र ड्याम निर्माणपछि पोखरीमा जम्मा भएको सिल्ट निकालेर बेच्दा वार्षिक सवा ३ करोड आम्दानी हुने पोखरा महानगरले दावी गरेको थियो । रातोपाटीबाट साभार ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology