पर्वत । केही दिनदेखिको भारी वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने सेतीवेणी अवस्थित विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको हो ।
कालीगण्डकीमा पानीको सतह उच्च विन्दुमा पुगेपछि शिला पूर्णरूपमा डुबानमा परेको स्थानीय तिलक पराजुलीले जानकारी दिएका छन्। शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत विस्थापित बनेका छन् । पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायतका सबै संरचना डुबाएको पराजुलीले बताए।
शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्यावियन पर्खालसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधार पनि पूर्णरूपमा क्षति पुगेको उनले बताए। यही असार १ गतेको बाढीले उक्त क्षेत्रमा रहेको सेतीवेणी बजारसमेत डुबानमा परेको थियो भने नौ घर विस्थापित भएका थिए ।
कालीगण्डकीको बहाबले अहिले शिला र आसपासमा सत्तललगायतका संरचना डुबानमा परे पनि बजारसम्म आइनपुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए। कतिबेला घरसम्मै आएर डुबाउने हो भन्ने चिन्ताले स्थानीयवासी भने रातभर जाग्राम बसेका थिए । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा सेतीवेणीबजार डुबानको खतरामा परेको हो ।
सेतीवेणीबजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार र स्याङ्जातर्फको बजार क्षेत्रमा झण्डै २०० व्यापारी तथा सर्वसाधरण त्रसित बनेका हुन् ।
मध्यपहाडी राजमार्ग अवरुद्ध
ठाउँठाउँमा बाढी र पहिरो झर्दा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड गए रातिदेखि नै अवरुद्ध बनेछ । पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोलामा बाढी, वडा नं ४ को छमर्केमा पहिरो र गिलमेरी खोला आएको बाढीका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अत्यधिक वर्षाका कारण तत्काल सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। उनका अनुसार स्काभेटर र सुरक्षा निकाय तैनाथी अवस्थामा रहेपछि सडक वर्षा नरोकिएका कारण सडक खुलाउन नसकिएको हो ।
वर्षा रोकिएलगत्तै सडक खुलाउन पहल गरिने अधिकारीले जानकारी दिए। सडक अवरुद्ध हुँदा धवलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङबाट पोखरा, काठमाडौँ लगायतका ठाउँका लागि छुटेका सवारी साधन पर्वतको नयाँपुलमा अलपत्र परेका छन् भने अन्यत्रबाट धवलागिरितर्फ आएका सवारी साधन पर्वतको दोबिल्लामा अलपत्र बनेका छन् ।
सडक अवरुद्ध हुँदा बिरामी समस्यामा परेका छन् । वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडकसमेत अवरुद्ध भएका छन् भने गए रातिदेखि इन्टरनेट र टेलिफोनसमेत अवरुद्ध भएकामा केहीबेर अघि मात्र चालु भएको हो ।रासस