गोरखा । महँगो भाडा असुलेको आरोपमा प्रहरीले दुई माइक्रोबसलाई नियन्त्रणमा लिएको छ।
ती बससँग सम्बन्धित दुईजनालाई नियन्त्रणमा लिइएको प्रहरले जनाएको छ। निषेधाज्ञाबीच महँगो भाडा असुलेर गोरखा-काठमाडौं यात्रु ओसारपसार गर्ने बा५ख १०७७ र बा५ख १०७३ नम्बरको माइक्रोबसलाई नियन्त्रणमा लिइएको हो।
ती मध्ये एउटालाई गोरखा आउँदै गरेको १०१७ लाई मझुवाभन्ने ठाउँबाट र अर्कोलाई काठमाडौं जाँदै गरेको अवस्थामा बाह्रकिलो भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार विशेष सूचनाका आधारमा पक्राउ परेका ती माइक्रोबसले बढी भाडा असुलेको पुष्टि हुन आएको छ ।
गोरखा-काठमाडौं नियमित माइक्रोबस भाडा ४ सय ५० रुपैयाँ भए पनि ती माइक्रोबसले यात्रुसँग दोब्बरभन्दा बढी रकम असुल्ने गरेको पाइएको प्रहरीको भनाइ छ। निषेधाज्ञा उल्लघंन गरेको कसुरमा उनीहरुमाथि कारबाही हुने प्रहरीले बताएको छ।