Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चीनमा अर्को खतरनाक भाइरस फेला ,मृत्यु दर कोरोनाभन्दा धेरै

चीनमा अर्को खतरनाक भाइरस फेला ,मृत्यु दर कोरोनाभन्दा धेरै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ४, २०७८ सोमवार • १८:३७:२६ बजे
  • 1.1K
    SHARES
  • चीनमा अर्को खतरनाक भाइरस फेला ,मृत्यु दर कोरोनाभन्दा धेरै

    चीनमा मानव जीवनका लागि खतरनाक मानिएको अर्को एउटा भाइरस फेला परेको छ । नयाँ भाइरसका संक्रमितको मृत्यु दर कोरोनाभाइरसको तुलनामा निकै बढी रहने विज्ञहरुको भनाइ छ । चीनको राजधानी बेइजिङमा ‘मङ्की बी’ भाइरस फेला परेको हो । उक्त भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ । चिनियाँ अखबार ग्लोबल टाइम्सले उक्त भाइरसबाट पहिलो मृत्युको पुष्टि गरेको हो । उक्त अखबारका अनुसार बेइजिङमा जनावरको एक चिकित्सकमा उक्त भाइरसको संक्रमण पुष्टि भएको हो । तर ती व्यक्तिको सम्पर्कमा आएका मानिसहरु भने अहिलेसम्म पूर्ण रुपमा सुरक्षित रहेको बताइएको छ । ५३ वर्षका ती पशु चिकित्सक एक संस्थामा ‘नन् ह्यूमन प्राइमेट्स’ बारे अनुसन्धान गर्दै थिए ।

    images

    उनले गत मार्च महिनामा दुई मृत बाँदरमाथि अनुसन्धान गरेका थिए । त्यसको एक महिनापछि उनमा बान्ता हुने प्रारम्भिक लक्षण देखिएको थियो । गत शनिबार ‘चाइना सीडीसी’ पत्रिकाले यसबारे विस्तृत जानकारी प्रकाशित गरेको छ । सो पत्रिकाका अनुसार विभिन्न अस्पतालमा ती पशु चिकित्सकको उपचार गरिए पनि २७ मेमा उनको निधन भएको हो । सो पत्रिकाका अनुसार यसअघि उक्त भाइरससँग सम्बन्धित कुनै मामिला प्रकाशमा आएको थिएन । ‘मङ्की बी’ भाइरसबाट मानव संक्रमित भएको र मृत्यु भएको यो पहिलो घटना हो । शोधकर्ताहरुले गत अप्रिलमा ती पशु चिकित्सकको ‘बोन म्यारो’ को नमूना परीक्षण गरेका थिए, जसबाट उनमा मङ्की बी भाइरसको पुष्टि भएको बताइएको छ ।

    यो भाइरसको पहिचान सन् १९३२ मै भएको थियो । यो भाइरस प्रत्यक्ष सम्पर्क वा शारीरिक स्रावको आदान प्रदानबाट मानिसमा सर्न सक्छ । यो भाइरसबाट संक्रमित बिरामीको मृत्यु दर ७० देखि ८० प्रतिशत रहेको विज्ञहरुको भनाइ छ । हर्पिस बी भाइरस या मङ्की भाइरस आम रुपमा वयस्क ‘मैकाक’ प्रजातिको बाँदरबाट सर्छ । यो भाइरस मानिसमा पाउनु दुर्लभ मानिन्छ । तर यसबाट कोही मानिस संक्रमित भएमा उसमा तन्त्रिका सम्बन्धी रोग या मस्तिष्क र मेरुदण्डमा सुन्निने समस्या देखा पर्न सक्छ । बोस्टन पब्लिक हेल्थ कमिसनको प्रतिवेदनअनुसार पशु चिकित्सक, प्रयोगशालामा काम गर्ने मानिस वा बाँदरसँग निकट रहेर काम गर्नेहरूमा यो भाइरसको संक्रमण हुने खतरा बढी देखिन्छ ।

    मानिसमा यो भाइरसको संक्रमण भएको एक महिनाभित्र यसको लक्षण देखा पर्न थाल्ने बताइन्छ । कतिपयमा भने एक हप्ताभित्रै पनि लक्षण देखिन थाल्छ । तर हरेक संक्रमितमा एक समान लक्षण नहुन पनि सक्ने विज्ञहरुको भनाइ छ । संक्रमण भएको अङ्गमा फोकाजस्तो देखिने, घाउ नजिकै सुन्निने तथा चिलाउने, फ्लुजस्तो दुखाइ हुने, ज्वरो आउने वा जाडो हुने, २४ घण्टाभन्दा बढी समयसम्म टाउको दुख्ने, थकान, सास फेर्न कठिनाइजस्ता यो भाइरसका लक्षण हुन् ।

    बोस्टन पब्लिक हेल्थ कमिशनको प्रतिवेदनअनुसार समयमै उपचार नहुने हो भने संक्रमितमध्ये लगभग ७० प्रतिशत बिरामीको मृत्यु हुन सक्छ । यो भाइरसको उपचारका लागि केही औषधि उपलब्ध भए पनि यसविरुद्धको खोप उपलब्ध नरहेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # खतरनाक भाइरस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology