पोखरा। पोखरा महानगरका मेयर मानबहादुर जिसीको उपचारका लागि नगरपालिका कार्यपालिका बैठकले दश लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
अकस्मात् मस्तिष्कघात भई उपचाररत जिसीको तत्काल उपचार खर्च व्यवस्थापनका लागि प्रकोप व्यवस्थापन कोषबाट रु। १० (दश) लाख खर्च गर्नेे निर्णय भएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
बैठकले जिसीको शीघ्र स्वास्थ्य लाभको कामना गदै महानगरका सम्पूर्ण वडा कार्यालयहरूमा स्वास्थ्य लाभको पुस्तिका राख्ने निर्णय समेत गरेको छ । मस्तिष्कघात भएपछि मेयर जिसीको काठमाडौँ बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि मेयर जिसीलाई रानीपौवाको मेडिप्लस हुँदै मणिपाल शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरुले मस्तिष्कघात पुष्टि गरेका थिए ।
मणिपालमा प्राथमिक उपचारपछि शुक्रबारै दिउँसो हेलीमार्फत उनलाई काठमाडौँ लगिएको थियो ।