पोखरा । सामाजिक सञ्जालमा मृत्यु भएको भनेर हल्ला फिँजाइएका विजय शाही कालिकोटस्थित आफ्नै घरमा सकुशल भेटिएका छन् ।
सामाजिक सञ्जालमा चर्चामा आएका विजय शाहीको मृत्यु भएको खबर सार्वजनिक भएपछि प्रहरीले खोजविन गर्ने क्रममा उनी कालिकोटमा भेटिएका हुन ।
प्रहरीले शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको हो । कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहीले विजय शाहीको मृत्युको हल्ला झुटो भएको बताए ।
सामान्य बिरामी भएर अस्पताल गएका शाही आफ्नो महावै गाउँपालिका वडा नं। ५ स्थित घरमा आइसकेकाे प्रहरीले जानकारी दिएकाे छ। शाही निकट व्यक्तिहरुले नै मृत्यु भएको भन्दै सामग्री पोष्ट गर्नुको कारणबारे पनि प्रहरीले खोजी थालेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शाहीबारे फेसबुकमा आएको सामग्री झुठो रहेको खुलेको छ । उनले भने, ‘फेसबुकमा आएको पोष्टबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’
आफूलाई चर्चामा ल्याउन उनले ‘मेमोरी किङ’ भएको दाबी गर्ने गरेका थिए । तर उनी झुठो भएको सार्वजनिक भएसँगै शाही काठमाडौंबाट भागेका थिए । उनीमाथि ठगीको आरोप लागे पनि प्रहरीमा औपचारिक उजुरी परिसकेको छैन ।