धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन ।
शुक्रवार बिहान करिव साढे चार बजेको समयमा हिरासतकै शौचालयमा झुण्डिएको अवस्थामा लक्ष्मीनियाँ गाउँपालिका-२ का ४० वर्षीय पल्टु रविदासको शव फेला परेको धनुषाका एसपी प्रकाश रानाभाटले बताए। उनले आत्महत्या गरेको एसपीको भनाई छ ।
पल्टु आफ्नै भाइ विल्टु रविदाससँग घरायसी विवादमा परेर ज्यान मार्ने उधोग कुटपिट अङ्गभङ्ग मुद्दामा पक्राउ परेका थिए । धनुषा जिल्ला अदालतबाट दुई लाख धरौटी माग भएको र सो रकम उनले तिर्न नसक्दा कारागार कार्यालय सिन्धुली पठाउन आदेश दिएको थियो।
कारागार पठाउने तयारी गरिरहेकै बेला उनले आत्महत्या गरेको प्रहरीको दाबी छ। आर्थिक रूपले विपन्न रहेको र जेल भयका कारण उनले आत्महत्या गरेको हुनसक्ने एसपी रानाभाटले बताए।
यद्यपि रविदासको परिवारजनले आत्महत्या नभई हत्या हुन सक्ने भन्दै घटनाको छानबिन गर्न माग गरेका छन् ।
यसअघि पनि २७ जेठ २०७७ को राति धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका एक युवा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
सवारी ज्यान मुद्दामा पक्राउ परेका २२ वर्षीय शम्भु सदा थुनुवा कक्षभित्रै पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । प्रहरीले यो घटनालाई पनि आत्महत्या भएको जनाएको थियो ।
मृतकका आफन्तले भने हत्या भएको भन्दै छानबिनको माग गर्दै आन्दोलन पनि गरेका थिए ।