Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बर–पिपल, चौतारी र पोखरीको संरक्षण तथा मर्मतसम्भारका लागि म्याग्दीमा अभियान

बर–पिपल, चौतारी र पोखरीको संरक्षण तथा मर्मतसम्भारका लागि म्याग्दीमा अभियान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १५, २०७८ शुक्रवार • २०:०६:२३ बजे
  • 3.2K
    SHARES
  • बर–पिपल, चौतारी र पोखरीको संरक्षण तथा मर्मतसम्भारका लागि म्याग्दीमा अभियान

    धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग साइनो गाँसिएका बर–पिपल, चौतारी र पोखरीको संरक्षण तथा मर्मतसम्भारका लागि म्याग्दीका विभिन्न गाउँमा अभियान नै सञ्चालन गरिएको छ ।

    images

    छ वटा स्थानीय तह रहेको म्याग्दीका धवलागिरि गाउँपालिकाबाहेक बेनी नगरपालिका, म¬ङ्गला, मालिका, रघुगङ्गा र अन्नपूर्ण गरी पाँचवटा स्थानीय तहका १४ वटा वडामा बर–पिपल लगाउने र चौतारी–पोखरी निर्माण गर्ने कामले तीव्रता पाएको छ । बेनीलगायत केही स्थानीय तहका वडाले बजेट नै छुट्याएर बर–पिपल र चौतारी–पोखरी संरक्षण, मर्मत तथा निर्माण गरेका छन् भने कुनै वडामा स्थानीय सामुदायिक वन उपभोक्ता समूह, समुदाय र व्यक्तिगतरूपमा समेत बर–पिपल लगाउने र चौतारी पोखरी निर्माण गर्ने काम भइरहेको छ ।

    बेनी–६ ले गत वर्षदेखि वडाभित्र रहेका पुराना बर–पिपल, चौतारी–पोखरी र पँधेरा–कुवाको संरक्षण अभियानमा करिब रु पाँच लाख बजेट नै खर्च गरेको वडाध्यक्ष कृष्णबहादुर बानियाँले जानकारी दिनुभयो । पुराना सम्पदाको संरक्षणसँगै नयाँ पुस्तालाई जानकारी गराउने गरी वडाभित्र रहेका दशकौँ अगाडिका बर–पिपल, चौतारी, पोखरी र धाराको संरक्षण गरिएको उहाँले बताउनुभयो । ग्रामीण वस्तुको सुन्दरतालाई कायम राख्न वर्षौँ पहिले रोपिएका बर–पिपल र निर्माण गरिएका चौतारी, पोखरी, कुवा र धारा (पँधेरा)को संरक्षण र मर्मतमा स्थानीयवासीको चासो बढेको अध्यक्ष बानियाँले बताउनुभयो । उहाँका अनुसार १०० वर्षभन्दा पुराना बर–पिपलका रुख रोप्नेहरुको विवरण सङ्कलन गरी परिवारबाटै संरक्षणको प्रयास गरिएको छ ।

    गत वर्ष पोखरी संरक्षणका लागि गण्डकी प्रदेशबाट प्राप्त बर–पिपल संरक्षण तथा रोपणका लागि रु तीन लाख र चौतारी तथा कुवाका मर्मतसम्भारका लागि रु दुई लाख बजेट खर्च गरिएको उहाँले बताउनुभयो । उक्त बजेटबाट थानकपोखरी र जरबुटामा बर–पिपल रोपण र चौतारी निर्माण, छापको घोतघोतको पोखरी संरक्षण गरिएको थियो । बर–पिपल रोप्ने, चौतारी पोखरी बनाउनेको अभिलेख राख्ने र वडामा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदाको तथ्याङ्क राख्ने कामसमेत वडाले गरेको छ । वडामा अहिलेसम्मको तथ्याङ्कअनुसार ५० भन्दा बढी बर–पिपल र चौतारी छन् । त्यसैगरी ५० भन्दा धेरै पानीका कुवा र पोखरी पुरिएको अवस्थामा भेटिएको वडाले जनाएको छ ।

    स्थानीयवासीको सहयोगमा बर–पिपल मास्न, काट्न, रुखको मौलिकतालाई बिगार्न नदिने र पुरानो भएर जोखिमपूर्ण अवस्थामा पुगेका रुखको वडा कार्यालयबाट अनुमति लिएर हाँगा, काँटछाँट गर्ने जिम्मेवारी दिइएको छ । त्यसैगरी बेनी–५ पुलाचौरको देउपुर्ने, आँटी पानीपँधेरा सामुदायिक वनमा १०८ बर–पिपलका बिरुवा रोपिएको छ । वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले सामुदायिक वन क्षेत्रमा १०८ बर–पिपलसहित स्वामी र बेलका गरी १३७ वटा बिरुवा रोपिएको हो ।

    देउपुर्ने र आँटी पानीपँधेरा सामुदायिक वन उपभोक्ता समिति र विश्व हिन्दू महासङ्घ बेनी–५ को सहकार्यमा बिरुवा रोपण कार्यक्रम गरिएको देउपुर्ने र आँटी पानीपँधेरा सामुदायिक वन उपभोक्ता समितिका सदस्य चिरञ्जीवी सुवेदीले जानकारी दिनुभयो । बेनी–२ ज्यामरुककोटमा स्थानीयवासी चन्द्रबहादुर कार्कीले आफ्नै निजी लगानीमा १७ वटा चौतारी निर्माण, १७४ ठाउँमा बर–पिपल रोपण र आठवटा पोखरी निर्माण गर्नुभएको छ ।

    “मैले यो काम धर्म कमाउने लोभले नभई वातावरणको शुद्धता र बटुवालाई शीतलता प्राप्त होला भनेर गरेको हुँ”, ५६ वर्षीय कार्कीले भन्नुभयो । पछिल्लो समय सार्वजनिक ठाउँमा बर–पिपल रोप्ने र सडकको छेउछाउ वा गोरेटो बाटोको नजिक चौतारी बनाउने क्रम बढ्दै गएकामा गाउँका वृद्धवृद्धाले प्रशन्नता व्यक्त गरेका छन् । रासस

  • सम्बन्धित विषय:

  • # रासस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology