पोखरा । भारतीय एसएसबीले तुइन तर्दै गर्दा डोरी फुकालिदिएपछि शुक्रबार बिहान महाकाली नदीमा बेपत्ता भएका दार्चुला व्यास गाउँपालिका– २ मालगाउँका जयसिंह धामीको शव फेला नपारेपछी आफ्नतले मृत्यु भएको आशंकामा कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् ।
शुक्रबार बिहान सदरमुकाम खलंगाका लागि हिँडेका जयसिंह मालघाटमा तुइन तर्ने क्रममा एसएसबीले डोरी फुकाइदिएपछि महाकालीमा खसेर बेपत्ता भएका थिए । खलंगाबाट काठमाडौं जाने उनको योजना थियो । शुक्रबार जयसिंहभन्दा अघि तुइन तरेका प्रत्यक्षदर्शीले ‘तुइनबाट जयसिंह पारि (भारततर्फ) पुग्न एक–डेढ मिटर बाँकी रहँदा एसएसबीले डोरी काटेको’ बताएका थिए ।
सडकमार्गको पहुँच नहुँदा स्थानीय बासिन्दा सदरमुकाम आउन पनि तुइनकै भर पर्नुपर्ने बाध्यता छ । तुइन तरेपछि भारतपट्टिबाट गाडी चढेर उनीहरू खलंगा पारिपट्टि धारचुलासम्म पुग्छन् । तर, पछिल्लो समय एसएसबीले वेलावेलामा तुइन काटेर दुःख दिने गरेको थियो ।
वैदेशिक रोजगारीका सिलसिलामा दुई वर्ष कतार र एक वर्ष दुबईमा सेक्युरिटी गार्डको काम गरेका जयसिंह गत वर्ष कोरोना महामारीले काम छुटेपछि नेपाल फर्किएका थिए । उनले आठ वर्षजति सेनामा पनि जागिर गरेका थिए । दुबईबाट फर्किएपछि जयसिंहले काठमाडौंको एक बैंकमा सेक्युरिटी गार्डको काम पनि गरेका थिए ।
भाइ नरेन्द्रका अनुसार विदेश जाँदा लागेको सात–आठ लाख ऋण अझै तिर्न सकेका छैनन् ।
घरमा जयसिंहको पत्नी, करिब सात वर्षका छोरा र डेढ वर्षकी छोरी छन् । कमाउने मुख्य व्यक्ति नै बेपत्ता भएपछि परिवार बिचल्लीमा परेको छ ।