Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नदी कटान रोक्न सामूहिक प्रयास

नदी कटान रोक्न सामूहिक प्रयास

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७८ शनिवार • १०:५२:५४ बजे
  • 499
    SHARES
  • नदी कटान रोक्न सामूहिक प्रयास

    कैलालीको टीकापुर नगरपालिका–२ मूलपानी नजिक भूराखानी क्षेत्र र वडा नं ५ मा भुराखानीमा कर्णाली नदीले कटान तीव्र पारेको छ। नदी कटान तीव्र भएपछि कटान भइरहेका ठाउँमा तत्काल जैविक तटबन्ध गरिने भएको छ।तटबन्धका लागि टीकापुर नगरपालिका, रानीजमरा कुलरिया सिँचाइ आयोजना, आयोजनाअन्तर्गतका समिति, जिल्ला विपद् व्यवस्थापन समिति, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोग लिइने भएको छ। नदीमा पानीको बहाव बढेपछि यसअघि रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गत वर्ष निर्माण गरेको तटबन्ध भत्काएको छ।

    images

    गत वर्ष निर्माण भएको तटबन्ध अब डेढ मिटरमात्र बाँकी छ। यो तटबन्ध भत्किएमा नदी बस्तीमा पस्ने जोखिम छ। नदी बस्तीमा पसेमा टीकापुरका वडा नं ६, ७, ८ र ९ प्रभावित हुनेछन्। नगरस्तरीय विपद् व्यवस्थापन समितिका बैठकले तत्कालै तटबन्ध कार्य शुरु गर्नुपर्ने तयारी गरेपछि नेपाली सेनाको टोलीले कटान भइरहेको स्थल अध्ययन गरिसकेको नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए। “तत्कात तटबन्धका लागि आवश्यक सामग्री जुटाएर काम थाल्ने निर्णय गरेका छौँ, सम्भवत आजैबाट तटबन्धको काम शुरु हुन्छ, जनशक्ति सिँचाइ कुलाका उपभोक्तालाई काममा लगाउने सहमति भएको छ”, नगर प्रमुख रावलले भने, “समयमै नदी नियन्त्रण गर्न नसके बस्ती सखाप हुन्छ।” तटबन्ध भत्कन थालेपछि नियन्त्रणका लागि रानीजमरा कुलरिया सिँचाइ आयोजनामार्फत ठूला ढुङ्गा प्रयोग गरी नदी नियन्त्रणको कार्यसमेत भइरहेको छ।

    चिसापानी र मोहन्याल क्षेत्रबाट ठूला ढुङ्गा ल्याएर तटबन्ध भइरहेको छ तर ढुङ्गा पाउन समस्या भएपछि जैविक तटबन्धसमेत गर्ने तयारी गरिएको रावल बताउँछन्। “गत वर्ष रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गरेको तटबन्ध यस वर्ष भत्किसकेको छ। नदी कटानले करिब डेढ मिटर मात्र तटबन्ध भत्कन बाँकी छ। नदीले धार परिवर्तन गर्दा अघिल्लो वर्षको तटबन्ध अर्को वर्षसम्म टिक्नै मुस्किल भएको छ”, उनले भने, “यो तटबन्ध यस वर्ष कटान रोक्नका लागि मात्रै हो। अब नियन्त्रणका लागि विकल्प र दीर्घकालीन तटबन्धबारे योजना बनाउन आवश्यक छ।” तटबन्ध गर्न बाँसलगायतको व्यवस्थापन नगरपालिकाले गर्ने भएको छ।

    त्यस्तै आवश्यक नाइलन जाली, खाली बोरालगायत अन्य आवश्यक सामग्री र जनशक्तिको व्यवस्थापन रानी जमरा कुलरिया सिँचाइ आयोजनाले गर्नेछ। आवश्यक रबोट बोट (डुङ्गा), र लाइफ ज्याकेटलगायत सुरक्षा सामग्रीको व्यवस्थापन नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा र टीकापुर नगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी बल तालिम शिक्षालयले उपलब्ध गराउने र प्राविधिक जनशक्ति व्यवस्थापन जिल्ला विपद् व्यवस्थापन समितिले गर्ने निर्णय भएको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिए। कर्णाली नदी कटानको जोखिम बर्सेनि रहन्छ।

    नदी नियन्त्रणका लागि सिँचाइ आयोजनाले दर्जनौँ ठाउँमा बर्सेनि तटबन्धको काम समेत गर्दै आएको छ तर निर्माणाधीन अवस्थामै रहेको तटबन्ध भत्कँदै जाँदा आयोजनालाई समेत काम लम्बाइरहनुपर्ने समस्या छ। नदी कटानले कैलाली र बर्दिया जोड्ने टीकापुर–८ फाँटागाउस्थित कर्णाली पुलको बर्दिया क्षेत्रको उत्तर र दक्षिणतर्फ बनेको तटबन्ध नदीमा भासिन थालेको छ। तटबन्ध भासिन थालेपछि पुलसमेत जोखिममा परेको छ। त्यहाँसमेत समयमै तटबन्ध पुनःनिर्माण कार्य शुरु नगरे बर्दियातर्फ ठूलो क्षति हुने देखिएको स्थानीय लोकसिंह धामीले बताए।

    बर्सेनि त्रासमा बस्न बाध्य तटीय क्षेत्रका नागरिकलाई सुरक्षित राख्न तटबन्धको स्वरुप परिवर्तन गरी दिगो समस्या समाधानतर्फ ध्यान दिन आवश्यक रहेको तटीय क्षेत्रका नागरिक बताउँछन्। “भत्कने खालको तटबन्ध किन बनाउनु ? दिगो हुने खालको तटबन्ध निर्माणमा ध्यान दिनुपर्छ”, स्थानीय रामकृष्ण चौधरी भन्छन्, “हरेक वर्ष तटीय क्षेत्रका नागरिकको बर्सातमा भागाभाग हुने अवस्था आउँछ।

  • सम्बन्धित विषय:

  • # नदी कटान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology