आइतबार गण्डकीका ५१० जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ११०५ जनामा गरिएको नमुना परीक्षणमा थप ५१० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् ।
जसअन्तर्गत कास्कीका १६९ जना, तनहुँका १७ जना, गोरखाका २७ जना, लमजुङका दुई जना र नवलपुरका १५ जनामा कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्गजाका १०३ जना, पर्वतका ५२ जना, बागलुङका १२२ जना र म्याग्दी जिल्लाका तीन जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७२ हजार ५१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ६२५ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६५ हजार १६४ पुगेको छ। आइतबार गण्डकीमा थप आठ जनाको मृत्यु पुष्टि भएको छ ।
आज मृत्यु पुष्टि हुनेमा गोरखा जिल्ला गोरखा नगरपालिकाका एक जना र पोखरा महानगरपालिकाका विभिन्न वडाका सात जना छन्। आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११३६ पुगेको निर्देशनालयले जनाएको छ ।
