Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तुइन घटना प्रकरण : छानबिन समिति फर्कियो, ड्रोन प्रयोगबारे भारतले जवाफ पठाएन

तुइन घटना प्रकरण : छानबिन समिति फर्कियो, ड्रोन प्रयोगबारे भारतले जवाफ पठाएन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७८ मंगलवार • १२:१३:३२ बजे
  • 955
    SHARES
  • तुइन घटना प्रकरण : छानबिन समिति फर्कियो, ड्रोन प्रयोगबारे भारतले जवाफ पठाएन

    महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित समिति आठदिन पछि दार्चुलाबाट फर्किएको छ । यही साउन १५ गते एसएसबीले तुइनको डोरी फुकाइदिएपछि नदी तर्नेक्रममा धामी बेपत्ता भएका थिए। गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा गठित सो समितिका सदस्य आज घटनाबारे थप बुझ्न दार्चुलाबाट बैतडीतर्फ प्रस्थान गरेका छन् । समितिले बैतडी हुँदै महेन्द्रनगरसम्म घटनाबारे जानकारी लिने र महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट गर्ने बताइएको छ । धामीको शव खोज्न ड्रोन क्यामेरा प्रयोग गरिँदै छ ।

    images

    यसका लागि नेपाल प्रहरीको प्राविधिक टोली जिल्लामै छ । भारतीय पक्षले सोमबारसम्म महाकालीमा ड्रोन प्रयोगको लागि अनुमति दिने-नदिनेबारे जवाफ पठाएको छैन । स्वदेशी भू–भागबाट ड्रोन प्रयोग गर्ने तयारी छ । सीमा क्षेत्रमा ड्रोन उडाउन दुवै देशको सहमति आवश्यक हुन्छ । ड्रोन क्यामेरा लिएर टोली आइतबार दार्चुला आइपुगेको हो । व्यास गाउँपालिका–२ मालघाटबाट सदरमुकाम खलङ्गासम्मको क्षेत्रमा ड्रोनको प्रयोग गरिने जनाइएको छ । सरकारले छानबिन समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा दिएको छ ।

    गत साउन १७ गते गठित छानबिन समितिले बुधबारसम्म सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने छ । समितिले अझै काम सकेको छैन । छानबिन समिति बैतडी महेन्द्रनगर हुँदै काठमाडौँ फर्किने समितिका सदस्य एवं दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिइन् । सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र सहायक प्रमुख जिल्ला अधिकारी भट्ट रहेका छन् ।

    छानबिन समितिले जिल्लामा रहँदा नेपाल–भारत दुवैतर्फबाट घटना भएको ठाउँको स्थलगत निरीक्षण गर्नुका साथै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी र घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # तुइन घटना प्रकरण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology