पोखरा । धनकुटामा उपचारका लागि आएका एक पुरुषलाई बलात्कार गरेको आरोपमा एक जना चिकित्सक पक्राउ परेका छन्।
धनकुटा–७ मा रहेको सुवास मेडिकलका सञ्चालक डा।राज शर्मालाई बिरामी पुरुषलाई यौनहिंसा गरेको आरोपमा सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पिसाबसम्बन्धी समस्या भई उपचारका लागि गएका धनकुटाको पाख्रिबासका ५३ वर्षीय पुरुषलाई बलात्कार गरेको आरोपमा शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी दीपककुमार रायले जानकारी दिए।
बिरामीले आफूलाई शर्माले यौनहिंसा (बलात्कार) गरेको भन्दै उजुरी दिएपछि हामीले डा।शर्मालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको डीएसपी दीपककुमार रायले जानकारी दिए।
डा।शर्मा विराटनगर महानगरपालिका–१२ खरैयाका स्थायी बासिन्दा हुन्। राति साढे १० बजे मादक पदार्थ सेवन गरी बिरामी कक्षमा पुगेका शर्माले आफूलाई यौनहिंसा गरेको भन्दै पीडितले प्रहरीलाई उजुरी दिएका छन्।
प्रारम्भिक अनुसन्धानबाट बिरामी पुरुषमाथि यौनहिंसा पुष्टि भएको प्रहरीको भनाई छ। तर, शर्माले भने आरोप अस्वीकार गरेका छन्। उनले बिरामीले आफूलाई अभद्र व्यवहार गरेको आरोप लगाएका छन्। घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।