पोखराको मणिपाल शिक्षण अस्पताल सवा तीन अर्बमा बिक्री गरिएको छ । पोखराकै दुई व्यवसायिक समूह बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास र अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेलले सवा तीन अर्ब रूपैयाँमा उक्त अस्पताल किनेका छन् । बतासले ६० प्रतिशत र पौडेलले ४० प्रतिशत लगानीमा अस्पताल खरिद गरेको अटोवेज ग्रुपका अध्यक्ष पौडेलले बताए । मणिपाल समूहसँग भोलि शुक्रबार अस्पताल खरिद बिक्री सम्झौता हुने पौडेलको भनाई छ ।
नेपाल सरकार र भारतको मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबीच १८ अक्टोबर १९९२ मा उक्त अस्पताल स्थापना गर्ने सम्झौता भएको थियो । सम्झौता भएको दुई वर्षपछि मेडिकल कलेजका रूपमा एमबिबिएस सुरू गरेको थियो । अहिले यस अस्पतालमा एमबिबिएस, पिजी र नर्सिङका कक्षा संचालनमा छ । यस अस्पतालले एमबिबिएस अध्ययनका लागि वार्षिक १०० जना भर्ना गर्न अनुमति पाएको छ ।
अस्पताल सञ्चालन गर्न मणिपाल समूहलाई सरकारले ४९ वर्षका लागि जग्गा भाडामा दिएको थियो । नेपालमै पहिलो पटक निजी क्षेत्रको लगानीमा स्थापना भएको मणिपाल मेडिकल कलेज अहिले पनि गण्डकी प्रदेशकै ठूलो सुविधा सम्पन्न निजी अस्पताल हो । यस अस्पतालमा ७५० बेड सञ्चालनमा छन्। १० हेक्टर क्षेत्रफलमा फैलिएको अस्पताल भवन १० लाख स्क्वायर फिट रहेको छ । मुख्य अस्पताल भवन रहेको जग्गा मणिपाल समूहकै नाममा रहेको छ भने बाँकी भवन तथा संरचना सरकारी जग्गामा रहेको छ ।