महोत्तरी । महोत्तरीमा लगातारको वर्षातपछि रातु नदीमा आएको बाढी बस्तीमा पस्दा ९ सय घर डुबानमा परेका छन् । जिल्लाको बलवा नगरपालिका– ४ स्थित तीलगढ बस्तीनै डुबानमा परेको स्थानीयले बताएका छन् ।
बस्तीका ९ सय घर डुबानमा परेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । डुबानमा परेको बस्तीमा जोखिममा रहेकाहरूलाई उद्धार गरी अन्यत्र सार्न सुरक्षा निकायलाई परिचालन गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका प्रमुख तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई समेत डुबान क्षेत्रमा सुरक्षा सामाग्रीका साथमा परिचालन गरिएको भट्टराईले बताए । डुबेको बस्तीबाट पानी पठाउन ठाउँ–ठाउँबाट पानी काट्ने काम भइरहेकाले जोखिम बिस्तारै कम हुने भट्टराईले बताए ।