म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा आज बिहान कालीगण्डकीको छालले आठ वटा घरमा क्षति पुर्याएको छ भने तीन जना घाइते भएका छन् । पर्वतको जलजला गाउँपालिका–३ माटेपानीको पहाडबाट कालीगण्डकीमा पहिरो खसेर म्याग्दीतर्फको कालीपुलमा छाल पसेको थियो । स्थानीयबासी सुरेश पुनका अनुसार आज बिहान २.३० बजे कालीपुलको बस्तीमा बाढी सहितको छाल पसेको हो । ‘सुतिरहेको बेला ठुलो आवाजसँगै घरभित्रै पानी पसेपछि भागाभाग भयो,’ उनले भने ‘पानीले घरभित्र हिलाम्मे बनाएको र सामान बगाएको छ ।’ बस्तीको पछाडी कालीगण्डकीको किनारतर्फ रहेका घरको शौचालय, टहरा र कोठा भत्किएका छन् ।
घरभित्र छाल पसेपछि भाग्ने क्रममा गोबिन्द बुढा, सन्तु पुन र रेखा नेपाल घाइते भएको कालीपुल टोल सुधार समितिका अध्यक्ष ताराप्रसाद पुनले बताए । घाइतेलाई उपचारका लागि स्थानीयबासी र प्रहरीले उद्दार गरेर बेनी अस्पतालमा लगेका छन । उनिहरु अहिले खतरामुक्त रहेका छन् । माटेपानी र कालीपुल कालीगण्डकी नदीको वारीपारी छन् । माटेपानीको पहाड बर्खे भेलले उर्लिएको कालीगण्डकीमा खस्दा छालले कटान नियन्त्रणका लागि निर्माण गरिएको तटबन्धको पर्खाल नाघेर बस्तीमा पुगेको स्थानीय सोनिया पुनले बताइन् । टोल सुधार समितिका अध्यक्ष ताराप्रसााद पुन, सुरेश पुन, सुबिन श्रेष्ठ, भिमा कार्की, क्षेत्र गौचन, एबिन तिलिजा, टिकाबहादुर पुर्जा, हर्कबहादुर थापाको घर र निर्माण ब्यवसायी दिनेश ढुङ्गानाको स्टोर रहेको टहरामा क्षति पुगेको छ ।

फर्निचर, लत्ताकपडा, भाडाकुडा लगायतका सामग्री छालले लथालिङ्ग बनाएको छ । तटबन्धको माथिल्लो भागमा राखिएको फलामको रेलिङ पनि भत्काएको छ । तटबन्ध भने सुरक्षित छ । पहिरोले पाइपलाइन बगाएपछि जलजला गाउँपालिकाको वडा न. २ र ३ मा पर्ने बगरफाँटमा खानेपानी आपुर्ति बन्द भएको छ । पर्वतबेनी खानेपानी उपभोक्ता संस्थाका सदस्य हिराबहादुर बरुवालले २५० घरधुरीमा खानेपानी आपुर्ति बन्द भएको बताए ।

बेनी नगर कार्यपाकिलाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष रामकृष्ण बराइलीले घर भत्किएका, जोखिममा परेकाहरुलाई ब्यवस्थापन गरिने बताए । नगर उपप्रमुख सञ्जु बरुवाल, वडा अध्यक्ष बराइली लगायतको टोलीले कालीपुलको निरीक्षण गरेका थिए । जिल्ला प्रहरी कार्यालयले बिहानै देखि क्षतिको बिबरण संकलन शुरु भएको जनाएको छ ।