पोखरा । पोखराबाट कास्की प्रहरीले ठुलो मात्रामा अवैध एसिडसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
कास्की प्रहरीले एक हजार ३०० किलोग्राम (झण्डै डेढ टन) अवैध एसिड सहित बाराको जितपुर सिमरा उपमहानगरपालिका–१५ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–४ बेलचोकमा बसी ग ३ प ११४३ नम्बरको जीप चलाउने १९ वर्षीय कोमिन बहादुर भारती, मोरङको विराटनगर महानगरपालिका–२ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–२ मा बसी सोही सवारीमा सवार २९ वर्षीय केशव सिंह र बागलुङको बागलुङ नगरपालिका–७ ढिकीचौर स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–२ मोहोरिया टोल बस्ने अभिषेक औजार पसलका सञ्चालक वर्ष ६३ वर्षीय बल बहादुर बिक रहेका छन्।
कास्की जिल्लामा बिना इजाजत एसिड ओसारपसार तथा बेचबिखन भइरहेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट निगरानी तथा अनुगमन गर्ने क्रममा उनीहरूलाई गत भदौ १० गते पोखरा महानगरपालिका–४ गैह्रापाटनबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
उनीहरूले ग ३ च ११४३ नम्बरको जीपमा सिलबन्दी तथा लेबलिङ नलगाएको एक हजार किलोग्राम एसिड र बलबहादुरको अभिषेक औजार पसलबाट बिना इजाजत ३५० किलो एसिड गरी कुल १३ सय ५० किलो सिलबन्दी र लेबलिङ नगरी बेच्न डुलाइरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।
उनीहरूलाई तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ को दफा ८ र ९ अनुसार उनीहरूलाई पक्राउ मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डीएसपी हमालले बताए।