Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

महामारीको दोस्रो लहरसँगै बन्द भएका केहि विद्यालयहरू भने खुल्न थाले

महामारीको दोस्रो लहरसँगै बन्द भएका केहि विद्यालयहरू भने खुल्न थाले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०७८ मंगलवार • १६:२२:५७ बजे
  • 586
    SHARES
  • महामारीको दोस्रो लहरसँगै बन्द भएका केहि विद्यालयहरू भने खुल्न थाले

    कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण देशका अधिकांश विद्यालयहरु खुल्न सकेका छैन । २०७६ सालको चैत महिनादेखि विद्यालय सञ्चालनमा आएका छैनन् । तर महामारीको दोस्रो लहरसँगै बन्द भएका केहि विद्यालयहरू भने खुल्न थालेका छन् । कोरोना संक्रमणदरमा कम भएसँगै काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय आजदेखि संचालन गरिएको हो । गोकर्णेश्वर नगरपालिकाको शिक्षा समितिले भदौ १५ गतेदेखि विद्यालय सञ्चालन गर्न सक्ने भन्दै अनुमति र परिपत्र जारी गरेको हो |

    images

    भदौ १५ देखि सरकारी र सामुदायिक दुबै विद्यालय सञ्चालन गर्न दिने नगरपालिकाले निर्णय गरेको छ । स्वास्थ्य सावधानी अपनाएर, विद्यालयको भौतिक पूर्वाधार हेरेर, आवश्यक कोभिड–१९ फैलिन नदिन आवश्यक अन्य पूर्वाधारको व्यवस्थासहित भौतिकरुपमै विद्यालय सञ्चालनका लागि नगरपालिका (स्थानीय तह)ले अनुमति दिएको छ । यस्तै बागलुङमा पनि जनस्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै विद्यालयले पठनपाठन शुरु गरेका छन् । कक्षागत रुपमा बार छुट्ट्याएर बालबालिकालाई पढाउन थालिएको ताराखोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक उमानाथ अधिकारीले बताए । “बालबालिकालाई कहिलेसम्म पढाइबाट वञ्चित गर्ने ?”, उनले भने । “महामारीको जोखिम कम भएका ठाउँमा विद्यालय खुलेका छन् ।”नेपाल माविमा पूर्वप्राथमिकदेखि कक्षा ५ सम्म आइतबार, मङ्गलबार, बिहीबार ६ देखि ९ सम्मको कक्षा सोमबार, बुधबार, शुक्रबार र कक्षा १० आइतबारदेखि शुक्रबारसम्म सञ्चालन भइरहेको छ |

    सानो उमेरका बालबालिकाका लागि अनलाइन कक्षा प्रभावकारी नभइरहेका बेला गाउँका विद्यालयले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै प्रत्यक्ष सिकाइविधि अपनाएका हुन् । दुर्गममा इन्टेरनेटको सहज पहुँच नहुँदा अनलाइन कक्षा सञ्चालनमा चुनौती छ । केही समय विद्यार्थीका घरघरमा पुगेर टोल शिक्षामार्फत सिकाइ सहजीकरण गरिए पनि त्यसलाई निरन्तरता दिन व्यवस्थापकीय कठिनाइ भएको प्रअ अधिकारीको भनाइ छ । कक्षाकोठाभित्र भौतिक दुरी कायम गर्ने, अनिवार्य मास्क लगाउने कुरामा भने कडाइ गरिएको उनले बताए । गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले कोरोना सङ्क्रमणको अवस्था हेरेर जोखिम नभएका ठाउँमा विद्यालय खोल्ने निर्णय गरिएको बताए । “सङ्क्रमण बढेको स्थितिमा त खोल्ने कुरा भएन, जोखिम नभएका ठाउँमा जनस्वास्थ्यका मापदण्डपालना गरेर विद्यालय चलाउनुपर्छ”, उनले भने । शिक्षकले कोरोना विरुद्धको खोप लगाएका कारण पनि प्रत्यक्ष सिकाइ सहजीकरणका लागि केही सजिलो भएको अध्यक्ष घर्तीले बताए । गाउँपालिकाका अन्य विद्यालयले पनि स्थानीय अनुकूलता हेरेर विद्यालयमै प्रत्यक्ष पठनपाठनको प्रबन्ध मिलाएका छन् |

    कतिपयले तल्लो कक्षाका बालबालिकालाई भौतिक उपस्थितिमा र माथिल्लो तहकालाई अनलाइनमार्फत पढाइरहेका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले भने अझैपनि विद्यालय सञ्चालनमा रोक लगाइरहेको छ । वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिन भनिए पनि गाउँका विद्यालयमा त्यो सम्भव हुन सकिरहेको छैन । बालबालिकाको पढाइ बिग्रने र शैक्षिक सत्र नै प्रभावित हुने देखिएपछि विद्यालय खोल्ने निर्णयमा स्थानीय तह पुगेका हुन् । तमानखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख पूर्णबहादुर घर्तीले सुरक्षा अपनाएर विद्यालय खोल्ने विषयमा योजना बनिरहेको बताए । वैकल्पिक सिकाइ सहजीकरणलाई पनि प्रभावकारी बनाउन गाउँपालिकाले पहल थालेको उनको भनाइ छ । “सिकाइबाट बालबालिका वञ्चित नहुन भन्नेमा हामी सचेत छौँ, विस्तारै अब विद्यालय पनि खोल्नुपर्छ”, प्रमुख घर्तीले भने |

    यहाँका अन्य स्थानीय तह पनि विद्यालय सञ्चालनको तयारीमा जुटेका छन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कुस्मराज उपाध्यायले महामारीको प्रकोप नभएको ठाउँमा पालो बाँडेर कक्षा चलाउनुपर्ने बताए । कोरोनाको पहिलो लहर थामिएपछि केही समय खुलेका विद्यालय पुनः दोस्रो लहर भित्रिएसँगै गत वैशाखदेखि बन्द छन् । केही दिनयता यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा छ । स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमित जम्मा १७३ छन् जसमध्ये सबैभन्दा धेरै बागलुङ नगरपालिकामा ८४ सङ्क्रमित छन् भने तमानखोलामा सङ्क्रमण शून्य छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology