पोखरा । बुधावर राती परेको अविरल बर्षाका कारन पहिरो जादा तीन जनाले ज्यान गुमाएका छन् । लगातारको वर्षापछि भएका छुट्टाछुट्टै तीन घटनामा थप एक जना बेपत्ता भएका छन् भने पाँच जना घाइते भएका छन् ।
लगातार परेको वर्षाका कारण घर पछाडिबाट पहिरो आउँदा पोखरा १० रामबजारमा भञ्ज्याङ नमुना टोल स्थित ४२ वर्षीय लक्ष्य नेपालीको ब्लकले बनेको घर भत्कँदा नेपालीको मृत्यु भएको छ।
नेपालीलाई उद्धार गरी उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा लागिएकोमा राति १ : २८ मा मृत्यु भएको भएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले जानकारी दिए । घटनामा नेपालीकी १४ वर्षीया छोरी सृष्टि नेपाली घाइते भई मणिपालमा उपचार भएकोमा बिहान ५ बजे डिस्चार्ज भएका छन। नेपालीकी श्रीमती र २ छोराहरूलाई सकुशल उद्धार गरी पोखरा ११ फूलबारी स्थित मामाको घरमा पठाइएको छ ।
त्यस्तै, भारी वर्षाकै कारण पोखरा २० भलाममा ब्लकले बनेको एक तले घर पहिरोले पुर्दा घरधनी ४५ वर्षीय कृष्णकुमार श्रेष्ठको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भएको छ ।
दुर्घटनामा उहाँकी पत्नी ३५ वर्षीया सुनमाया तामाङको घटनास्थलमै ज्यान गएको छ भने ३ वर्षीय छोरा सन्तोष श्रेष्ठ बेपत्ता भएका छन्। घटनामा अर्का ९ वर्षीय छोरा राजकुमार श्रेष्ठको टाउकोमा चोट लागेको अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । प्रहरी प्रवक्ता हमालका अनुसार बेपत्ता सन्तोषको हाल खोजी कार्य भइरहेको छ ।
वर्षाकै कारण घर माथिबाट पहिरो आई घर पुरिन जाँदा पोखरा ११ बसेरीका एकदेव तिमिल्सिना, उहाँकी श्रीमती ३८ वर्षीया रितु तिमिल्सिना र छोरा १९ वर्षीय गिरीष तिमिल्सिना घाइते भएको प्रहरीले जनाएको छ ।