Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्थानीय तहले भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

स्थानीय तहले भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २०, २०७८ आइतवार • १२:२७:५६ बजे
  • 1.2K
    SHARES
  • स्थानीय तहले भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

    कोरोना संक्रमणदर केही कम हुँदै गएपछि जिल्लाका स्थानीय तहले अवरुद्ध पठनपाठन भौतिक उपस्थितिमै पुनःसञ्चालनमा ल्याउन थालेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा स्वास्थ्य सुरक्षालाई पालना गर्दै बिहान र दिउँसोको समय मिलाएर विद्यार्थीको भौतिक उपस्थितिमै नियमित पठनपाठन सञ्चालन गर्न थालेका हुन् ।

    images

    जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाले भौतिक उपस्थितिमै पठनपाठन सञ्चालनमा ल्याइसकेको गाउँपालिका प्रमुख प्रदीप राईले जानकारी दिए । सो गाउँपालिकाभित्र नौ मावि, १० आधारभुत र ३० प्रावि सञ्चलनमा छन् । शिक्षक संख्या पर्याप्त भएको विद्यालयमा बाल शिक्षा केन्द्रदेखि कक्षा ५ सम्मको पठनपाठन बिहान ७ बजेदेखि १० बजेसम्म तथा कक्षा ६ देखि १० सम्मको पठनपाठन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन सुरु गरिएको उनले बताए । “शिक्षक र विद्यार्थी संख्या न्यून भएको विद्यालयमा बाल शिक्षा केन्द्रदेखि कक्षा ८ सम्मको पठनपाठन बिहान १० देखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ”, गाउँपालिका प्रमुख राईले भने, “कक्षा ६ देखि ८ तथा कक्षा ९ र १० को पठनपाठन भने विद्यालयको अनूकुलमा हप्तामा तीन दिन मात्र सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

    विद्यार्थी सिकाइ निरन्तरताका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीबाट प्राप्त पत्र एवं विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७८ को दफा ५ को उपदफा ४ अनुसार गाउँ शिक्षा समितिको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै–गराउँदै पठनपाठन सञ्चालन गर्न सिफारिस गरेको थियो । गाउँ शिक्षा समितिको सोही सिफारिसलाई भदौ १३ गते बसेको गाउँ कार्यपालिकाको बैठकबाट अनुमोदन गरेर अवरुद्ध पठनपाठनलाई सुरु गराइएको गाउँपालिकाले जनाएको छ । हरेक बेञ्चमा दुईमात्र विद्यार्थी राख्ने र दैनिक दुई वा तीन विषयको मात्र सिकाइ सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ ।

    गाउँपालिकाले विद्यालयका प्रध्यानाध्यापकलाई दैनिक कक्षा निरीक्षण गर्ने, सहजीकरण गरिएका विषयमा अस्पष्टता भएमा इन्टरनेटका माध्यमबाट शिक्षक–विद्यार्थीबीचमा अन्तक्र्रिया गर्ने, हरेक हप्ता शिक्षक तथा विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने, विद्यार्थीको स्वास्थ्यमा समस्या देखिए तत्काल अभिभावकलाई खबर गर्ने वा अन्य निकायलाई जानकारी दिनेलगायतका विषयमा विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र अभिभावकबीचमा अन्तक्रिया गर्ने व्यवस्था गरेको जनाएको छ । गाउँपालिकाको निर्देशनअनुसार विद्यार्थी सिकाइ सहजीकरणका लागि हरेक वडा शिक्षा समितिले यही भदौ १५ गते बैठक राखेको थियो । बैठकले गाउँमा कोही बिरामी भएको सूचना विद्यार्थीमार्फत लिने, कोभिड–१९ को संक्रमणबाट बच्न र बचाउन विद्यालयमा सचेतता अपनाउनेलगायतका निर्णय गरेको जनाएको छ ।

    खोटेहाङ गाउँपालिकामा ४९ सामुदायिक विद्यालयबाहेक खोटाङ क्याम्पस र सिमपानी क्याम्पस, चार स्वअध्ययन केन्द्र तथा दुई संस्थागत विद्यालय छन् । यस्तै हलेसी तुवाचुङ नगरपालिकाले पाँच माविमा अनलाइन कक्षा सुरु गरेको छ । गत साउन ३१ गतेको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार यही भदौ पहिलो साताबाट दुर्छिम मावि दुर्छिम, महेन्द्रोद्वय मावि हलेसी, सरस्वती मावि अर्खौले, बुलापन्थे मावि धितुङ र जनता मावि सल्लेमा अनलाइन कक्षा सुरु गरिएको नगर शिक्षा शाखाका संयोजक पदम कार्कीले बताए। अनलाइन कक्षा सञ्चालन गरिरहेका विद्यालयका ६० प्रतिशत विद्यार्थी अनलाइन कक्षामा समेटिएको दाबी गरिएको छ ।

    नगरका अन्य विद्यालयलाई अनलाइन कक्षा सञ्चालनबारे तालिम दिइए पनि कक्षा सुरु गर्न भने बाँकी रहेको संयोजक कार्कीले बताए । एघार वडा रहेको नगरपालिकामा १२ मावि, १३ आधारभूत, ६४ प्रावि, चार संस्थागत र दुईवटा सार्वजनिक शैक्षिक गुठी सञ्चालनमा छन् । यस्तै जन्तेढुङ्गा गाउँपालिकाले आगामी भदौ २७ गतेदेखि पठनपाठन सञ्चालन गर्ने तयारी गरेको छ । कोभिड–१९ को संक्रमणदर केही कम भएको निष्कर्षसहित भदौ १७ गते बसेको गाउँ शिक्षा समितिको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

    जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा पर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भने अहिलेसम्म विद्यालय खोल्नेसम्बन्धी कुनै निर्णय गरेको छैन । सबैभन्दा बढी कोरोना संक्रमित देखिएको यस नगरपालिकामा सञ्चालित दुई संस्थागत विद्यालयले भने अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # विद्यालय सञ्चालन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology